|

इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बम आतंक फैलाउनेहरुलाई मुसाको संज्ञा दिएका छन। दुलोभित्र बसेर सकेट बम जस्तो कागजी बम पड्काएर नेता र जनताको ज्यान लिएर क्रान्ति सफल नहुने उनको तर्क छ। सोमबार इलामको फिक्कलमा आयोजित आमसभालाई सम्वोधन गर्दै खनालले भने ‘तिमीहरु कुनामा बस्ने मुसा भन्दा केही पनि हैनौं। दुलोभित्र बसेर मानिसहरुलाई तर्साउने, नेताहरुलाई तर्साउने कुनै व्यक्तिको ज्यान लिएर कस्तो क्रान्ति हुन्छ?’

खनालले चुनाव विथोल्ने शक्तिलाई समाप्त गर्न नेपाली जनता दृढ भएको उल्लेख गरे। उनले भने ‘मानिसहरु आशंका के गरिरहेका छन् भने यो विप्लवको नेतृत्वमा भएको हो, यो कुरा सरकारले भन्नुपर्‍यो। विप्लवको नाममा अरु कुनै शक्ति चुनाव विथोल्न लागेको छ भने सुनोस् तिमीहरुलाई मटियामेट गर्न नेपाली जनता दृढ भएर उभिएका छन तिमीहरु आफै समाप्त हुनेछौ।’

खनालले फिक्कलको जनसभाले नेकपा एमालेको विजय देखाएको दावी गरे। इलाम क्षेत्र नं १ मा वाम गठबन्धनको प्रतिस्पर्धा कसैसंग नभएको उल्लेख गर्दै सिंगै वाममय भएको बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै खनालले भने ‘ पटक पटक गिरिजा, किसुनजी प्रधानमन्त्री हुनुभयो। अझ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा त सात पटक प्रधानमन्त्री बन्नुहुन्छ रे। उहाँलाई ज्योतिषीले भनेको पुगेकै छैन रे।’

मुलुक विकासको मेरुदण्ड मानिएका उद्योग कलकारखानाहरुलाई कांग्रेस सरकारले निजीकरण गर्दै मुलुकलाई अध्यारो तर्फ लगेको आरोप लगाउदै खनालले भने ‘साझा बस, बासवारी छाला जुता कारखाना, हरिसिद्धि इटा टायल, चिया बगान, विरगञ्ज कृषि औजार कारखाना जस्ता कारखाना निजीकरणमा नाममा कांग्रेस सरकारले कौडीको मुल्यमा बेचेकै हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.