|

काठमाडौं: प्राध्यापन पेसाबाट राजनीतिमा प्रवेश गरेका काठमाडौंका स्थायी वासिन्दा दीपकप्रसाद कुइँकेल एमालेका पूर्व महासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिष्पर्धामा छन्।

अघिल्लो संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर- १ र काठमाडौं क्षेत्र नम्बर- २ बाट निर्वाचित एमाले नेता नेपालले काठमाडौं क्षेत्र नम्बर- २ छाडेपछि काठमाडौं- २ को उपनिर्वाचनमा कुइँकेलले एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गरेर चर्चामा छन्। आफू काठमाडौं क्षेत्र नम्बर- २ को स्थायी बासिन्दा भएका कारण जनताले पत्याउने उनी बताउँछन्। कुइँकेलसँग थाहाखबरका लागि लिलाराज खनालले गरेको कुराकानी:

वाम गठबन्धनबाट एमालेका नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग चुनाव लड्दै हुनुहुन्छ, उहाँसँग प्रतिष्पर्धा गर्दा कत्तिको चुनौती व्यहोर्नुभएको छ?

मैले संविधानसभा सदस्यमा निर्वाचित भएर तीन वर्ष तीन महिना काम गरेँ। यस अवधिमा मैले यस क्षेत्रका जनताको जुन माया, सद्भाव, प्रेम र समर्थन पाएँ, त्यसबाट मलाई धेरै हौसला मिलेको छ। त्यसकै आधारमा मैले गर्न सक्ने काम गर्दै आएको छु।

मसँग प्रतिष्पर्धा गर्न आउनुभएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यस क्षेत्रका धेरै समस्यालाई समाधान गर्न विगत ३० वर्षमा पनि सक्नुभएन। ३० वर्ष उहाँ निरन्तर सांसद हुनुभयो। ०४८ सालदेखि उहाँ कहिले विपक्षी दलको नेता, उपप्रधानमन्त्री, प्रधानमन्त्री, पार्टीको अध्यक्ष, महासचिव हुनुभयो। एक वर्षजति सांसद हुनुभएन होला तर नेता त उहाँ ०४८ सालदेखि हुनुहुन्छ।

यत्रो समस्यै समस्या भएको ठाउँमा उहाँले समस्या समाधानको लागि कुनै काम भएको छैन। त्यसैले उहाँ भूतपूर्व हुनुहुन्छ, उहाँबाट हामी सल्लाह सुझाव लिन सक्छौँ। तर कुनै काम होला भनेर यहाँका जनताले विश्वास गर्न छोडिसके।  

हिजो यहाँका जनताले उहाँलाई जिताएर पठाउँदा कुनै काम नगरेकाले अब यहाँका जनताको विश्वास उहाँप्रति छैन। कांग्रेस सभपाति गिरिजाप्रसाद कोइारलाले उहाँलाई प्रधानमन्त्री बनाउनुभयो। गिरिजाबाबुको निगाहमा प्रधानमन्त्री हुँदासमेत नेपालले केही गर्न सक्नुभएन। उहाँलाई हामी भूतपूर्व प्रधानमन्त्रीको हैसियतले सम्मान दिन्छौँ।

पूर्व पदाधिकारीको हैसियतले उहाँलाई अहिले भत्ता छ, सवारी साधन, सुरक्षाकर्मीको स्कर्टिङ छ। मलाई भने यहाँ खुरुखुरु हिँड्नुपरेको छ। चुनावमा पनि उहाँ दायाँबायाँ स्कर्टिङ राखेर प्रहरीको ठूलो जत्था बोकेर हिँड्नुहुन्छ। जनतालाई केही लालसा देखाउनुभएको छ। नेपालले जनतासँग स्वार्थको कुरा गरिरहनुभएको छ।

स्वार्थ राख्ने मान्छेहरूलाई फकाइरहनुभएको छ। यहाँका मानिसको गरिवी, अशिक्षाप्रति मेरो प्रतिष्पर्धा छ। स्वार्थ राख्ने मानिसलाई स्वार्थको कुरा गरिरहनुभएको छ। यहाँको गरिवी र अशिक्षाप्रति मेरो चिन्ता छ। यहाँ नेपालसँग मेरो प्रतिष्पर्धा छैन। यहाँका जनतालाई आश्वासन दिएर नेपालले लोभलालचमा फसाउनुहोला कि भन्ने चिन्ता छ।

ठूलो पदबाट हटिसके पनि उहाँ ठूलो मान्छे भनेर कसैले झुक्किएलान् कि भन्ने चिन्ता छ। नत्र भने यो क्षेत्रमा उहाँको कुनै गुन्जायस छैन। त्यसैले उहाँसँग प्रतिष्पर्धा गर्दा मैले कुनै चुनौती देखेको छैन।

तपाईंले चुनावी मैदानमा वाम गठबन्धनका हेभी वेट नेता नेपालसँग प्रतिष्पर्धा गर्दा मतदाताले केही आशा गरेका होलान् नि?

उहाँबाट जनताले केही आशा गरेका छैनन्। उहाँले नै अरूण तेस्रो रोक्ने काम गरेर देशमा लोडसेडिङ बढाउने काम गर्नुभयो। मलाई लाग्छ, उहाँबाट वामपन्थीहरूले पनि सही नेतृत्व पाएनन्। त्यसैले होला पार्टीभित्रैबाट उहाँको विकल्पमा अर्को व्यक्तिले पार्टीको नेतृत्व गरिसक्नुभएको छ। उहाँकै पार्टीका कार्यकर्ताले उहाँको विकल्पमा केपी ओलीलाई नेतृत्वमा सुम्पिसके।

केपी ओली नेतृत्वमा नआउँदासम्म उहाँ पार्टीभित्र कहिले दोस्रो त कहिले पहिलो नेता हुनुहुन्थ्यो तर केपी ओली अध्यक्ष भइसकेपछि उहाँ नेतृत्वमा तेस्रो तहमा झरिसक्नुभएको छ।

वाम गठबन्धन भएपछि केपी ओली र प्रचण्डमध्ये को एक नम्बरको नेता बन्ने निश्चित नभएको अवस्थामा नेपालको ठाउँ कति नम्बरमा हो, थाहा छैन। ईश्वर पोखरेल वा वामदेव गौतम विपक्षी दलको नेता हुने हो कि? केही पनि नहुने मान्छेलाई यहाँ उम्मेदवार बनाइएको छ। उहाँबाट मतदाता त के कार्यकर्ताले पनि केही आशा गरेका छैनन्।

तपाईंले यहाँका मतदाता र निर्वाचन क्षेत्रको लागि के त्यस्तो काम गर्नुभयो र फेरि जिताउँछन् भन्ने लागेको हो?

मैले सांसद भएपछि साँखु-खड्गेश्वरको बाटो बनाउन अघि बढाएको छु। तीनकुनेको मुआव्जाको समस्यालाई समाधान गर्नेगरी अघि बढाएको छु। साँखु-बज्रयोगिनी, साँखु-फड्केश्वरको बाटो, साँखुको बज्रयोगिनी, शालीनदी, पञ्चमहालक्ष्मी, नेपाल माताको मन्दिर निर्माणको कार्य प्रारम्भ गरेको छु।

साँखुको बिस्तारित सडक निर्माणको काम अघि बढाइएको छ। जर्सिङपौवामा पार्क निर्माण गर्ने काम अघि बढाएको छु। जनताको आकांक्षाबमोजिम मैले काम गरिरहेको छु। साँखुको अस्तित्व कायम गराउन शंखरापुर नगरपालिकालाई मान्यता दिन लविङ गरेँ, अनसन बसेँ, संसदमा आवाज उठाएँ। यथेष्ठ काम गरेको छु।

शहरभित्रको बाटोघाटो, सरसफाई, खानेपानी ढलको काम गरेको छु। यहाँका २५ वटा नगरलाई व्यवस्थित गर्ने काम गरेको छु। त्यही केही बाँकी कामलाई पूरा गर्नसमेत यहाँका मतदाताले मलाई पत्याउँछन् र जिताउँछन्।

अहिले तपाईंका क्षेत्रका जनताले केके कुराचाहिँ माग गरिरहेका छन्?

जनताको ठूलो माग छँदै छैन। आफ्नो प्रतिनिधि आफ्नो नजिकमा रहिदिए हुन्थ्यो, आफ्ना दैनिक समस्याको सम्बोधन गर्न सकोस्, देशमा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न, सदाचारयुक्त समाज निर्माण गर्न, युवाहरूको भविष्य सुनिश्चित हुने ढंगबाट काम गरोस् भन्ने चाहना छ।

त्यही काम गर्नका लागि दोस्रो कार्यकालका लागि मैले उम्मेदवारी दिएको छु। युवाहरू विदेश जानु नपरोस्। विदेश गएका युवाहरू नेपाल फर्किएर नेपाल बनाउने विषयमा छलफल गरून्, देश समृद्धिमा लम्कियोस्, राजनीतिक एजेण्डा र छिनाझम्टीमा मात्र देश सधैँ नअल्मलियोस्। देश शान्ति प्रक्रियाको माध्यमबाट अब समृद्धिको यात्रामा लम्कियोस् भन्ने जनताको चाहना छ।

स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने वाम गठबन्धको पल्ला भारी छ भनिन्छ, यस्तो अवस्थामा तपाईंले मतदातालाई कसरी आकर्षित गर्नुहोला?

यो उनीहरूको सोचमा आएको सामन्ती संस्कार हो। किनकि जनता जनार्दन हुन्। जनताले सधैँ विवेकपूर्ण न्याय गर्छन्। हिजो स्थानीय तहको निर्वाचन हुँदा एमालेले पनि लोकतन्त्रवादी पार्टीको रूपमा आफूलाई प्रस्तुत गरेको थियो। माओवादीलाई त कांग्रेसले नै तालमेल गरेर उसलाई काँधमै बोकेर भोट दिलायौँ।

भरतपुर महानगरपालिकामा माओवादीको उम्मेदवारलाई हामीले गरेको सहयोगलाई हेर्न सक्नुहुन्छ। कांग्रेसले काँधमै बोकेर भोट दिलायो। त्यसबेला कांग्रेसको सहयोगबाट बढी सिट ल्याइसकेपछि आफ्नो सक्कली चरित्र देखाउन सुरु गरे।

उनीहरूले भन्न थालेका छन्, हिजो तिमीहरूले हामीलाई भोट दियौ, अब आज पनि भोट दिनुपर्छ। हिजो हामीलाई जितायौ, आज पनि जिताउनुपर्छ भनेर उनीहरूले सामन्ती उद्घोष गरिरहेका छन्। हिजो हामीलाई भोट दिनेले आज नदियोस् त? भनेर जनतालाई तर्साइरहेको र धम्क्याइरहेका छन्।

हिजो स्थानीय तहको निर्वाचनमा दाजुभाइ, दिदीबहिनीबीचको चुनाव थियो। आफ्ना दाजुभाइ वा दिदीबहिनीलाई चुनाव जिताए।

यी दुवै पार्टी लोकतन्त्रवादी पार्टी हुन् कि भनेर जनताले भोट हाले तर अहिले दुइटैले गठबन्धन गरेर हामीले कम्युनिष्ट गठबन्धन बनाउने हो, सर्वसत्तावादमा जाने हो, कम्युनिष्ट अधिनायकवाद ल्याउने हो भनेर उनीहरूले अहिले भनिरहेका छन्। तर उनीहरूलाई यही प्रश्न राख्नुस् होइन हामी कहाँ सर्वसत्तावाद ल्याउने हो र भन्छन्।

दस्तावेजमा उनीहरूले साम्यवादको यात्रामा हामी जान खोजेको भनेर लेखेका छन्। तर उनीहरूले अहिले सत्तास्वार्थको लागि हामीले गठबन्धन गरेका हौँ भनेका छन्। उनीहरूको बोलाइ र गराइमा के सत्य हो भन्ने पत्ता लगाउन कठिन छ।

यसरी बोलाइ र गराइमा फरक भएको वाम गठबन्धनलाई जनताले भोट हाल्दैनन्। नेपाली कांग्रेसको गठबन्धन जुन छ, त्यो हिजो पनि पारदर्शी थियो, आज पनि पारदर्शी छ। त्यसले सबै लोकतन्त्रवादी जनताले लोकतान्त्रिक पार्टीको उम्मेदवारलाई नै भोट हाल्नुहुन्छ।

तपाईंले जनतामाझ केके एजेण्डा लिएर जाँदै हुनुहुन्छ?

जनताका लागि अहिले सबैभन्दा ठूलो कुरा लोकतन्त्रको रक्षा हो। त्यसपछि व्यक्तिगत स्वतन्त्रता नै हो। यस निर्वाचन क्षेत्रको आर्थिक विकासका एजेण्डालाई मैले अघि सारेको छु। मैले धेरैवटा परियोजनालाई अघि बढाएको छु। तिनलाई निरन्तरताको लागि मैले जनतासँग भोट मागिरहेको छु।

भ्रष्टाचारमुक्त समाज बनाउने, सदाचारयुक्त र समृद्ध बनाउने, सभ्य समाज बनाउने विचार र संकल्प मैले लिएर मतदातासँग भोट मागिरहेको छु। २ नम्बर क्षेत्रको परिचय र पहिचानको लागि मैले मत मागिरहेको छु।

मैले जनताको शिर निहुर्‍याउने काम गरेको छैन। त्यसैले यहाँका जनताको पहिचान र प्रतिनिधित्वको लागि मैले काम गरिरहेको छु। मतदाताले मेरा एजेण्डालाई सकारात्मक रूपमा लिइरहनुभएको छ। अर्को कार्यकालका लागि हामी तपाईंलाई मत दिन्छौँ भनिरहनुभएको छ।

लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलको समर्थन कत्तिको पाइरहनुभएको छ?

लोकतान्त्रिक गठबन्धनमा आवद्ध सबै दलको समर्थन मलाई छ। केन्द्रीयस्तरमै भएको निर्णयलाई उहाँहरूले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

यो  निर्वाचनमा तपाईंको प्रतिष्पर्धा कोसँग हुन्छ जस्तो  लाग्छ?

चर्चामा आएका दुवै उम्मेदवारको नाम यस क्षेत्रको मतदाता नामावलीमा छैन। एक जना रौतहटको र अर्को काठमाडौंकै अर्को क्षेत्रको मतदाता हुनुहुन्छ। माधवकुमार नेपालको मतदाता नामावलीमा नाम रौतहटमा छ।

अर्का विवेकशील साझाका उम्मेदवारले पनि आफैँ उम्मेदवार भए पनि आफैँलाई भोट हाल्न पाउनुहुन्न अनि कति भोट आउँछ भन्नु! अघिल्लो संविधानसभा निर्वाचन जितेर जानु भएको माधवकुमार नेपालले यस क्षेत्रलाई छोडेर रौतहट नै रोज्नुभएको  थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.