|
Photo : NayaPatrika

बाग्लुङ : पहिलो चरणअन्तर्गत १० मंसिरमा सम्पन्न निर्वाचनपछि बाग्लुङका दल तथा उम्मेदवारको चिन्ता मतपेटिकाको सुरक्षामा केन्द्रित भएको छ। सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका छन्। मतपेटिकाको सुरक्षाका लागि तीनवटा घेरामा सुरक्षाकर्मी खटाइएको छ।

दलहरूले बाहिरी घेरामा बसेर मतपेटिका कुर्ने कार्यतालिका नै बनाएका छन्। एमाले, राजमो र माओवादी केन्द्रसहितको वाम गठबन्धन र राप्रपा र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता कार्यतालिकै बनाएर मतपेटिकाको सुरक्षा गर्दै मत परिणामको जोडघटाउ गरेर दिन बिताइरहेका छन्। उनीहरू कहिले मंसिर २१ गते आउला र मतगणना सुरु होला भनेर दिन गन्ती गरेर बसिरहेका छन्।

दिनमा महिला, रातमा पुरुष कुरुवा
दुई गठबन्धनका आबद्ध दलहरूले दिउँसो महिला र रातको समयमा पुरुष कार्यकर्तालाई मतपेटिका कुर्न खटाएका छन्। महिलाहरूले मतपेटिका कुर्न आफूहरूले पनि पाउनुपर्ने भन्दै आवाज उठाएपछि उनीहरूलाई दिउँसो कुर्ने पालो मिलाइएको हो। कांग्रेसले भ्रातृसंगठनका कार्यकर्तालाई मतपेटिका कुर्न आलोपालो खटाएको कांग्रेसका कोषाध्यक्ष उमेश गौतमले बताए।

‘कांग्रेस सम्बद्ध सबै भ्रातृ संस्थाहरूलाई मतपेटिका सुरक्षाको जिम्मा दिएका छौँ,’ गौतमले भने, ‘समय मिलाएर सबैजना प्रतिनिधिमूलक ढंगले कुर्न जाने गर्नुुभएको छ।’ कांग्रेसले महिला संघ, नेविसंघ, तरुण दल, ट्रेड युनियन, भूपू सैनिक संघलगायतका भ्रातृ संस्थालाई मतपेटिका सुरक्षाको जिम्मा दिएको छ।

यता वाम गठबन्धनले पनि मतपेटिका कुर्ने जिम्मा भ्रातृ संस्थालाई नै दिएको छ। युवा, महिला र अन्य भ्रातृसंस्थाका कार्यकर्तालाई समय मिलाएर मतपेटिका कुर्ने जिम्मा दिइएको माओवादी केन्द्र नेता कृष्ण केसीले बताए।

दलहरूका आ-आफ्नै ताला

मतपेटिका राखिएका कोठाका ढोकामा दलहरूले छुट्टाछुट्टै ताला लगाएका छन्। क्षेत्र नम्बर १ को मतपेटिका राखिएको कोठामा निर्वाचन आयोगसहित एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै ताला लगाएका छन्। त्यस्तै, क्षेत्र नम्बर २ मा आयोगसहित माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आ–आफ्ना ताला लगाएका छन्।

उम्मेदवार आफ्नो मतको जोडघटाउमा
निर्वाचन सकिए पनि यहाँका उम्मेदवार र कार्यकर्ताहरूको चिन्ता र तनाव हटेको छैन। मतपेटिका मुख्य निर्वाचन कार्यालयमा थन्किएका दिनदेखि उम्मेदवारहरू आफ्नो मतको जोडघटाउमा व्यस्त छन्। बाग्लुङ क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार एवं गरिबी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनका साझा उम्मेदवार सूर्य पाठकबीचको प्रतिस्पर्धालाई यहाँ महत्वका साथ हेरिएको छ।

त्यस्तै, क्षेत्र नम्बर १ को प्रदेश सभा (क)का उम्मेदवार कांग्रेसका प्रकाश शर्मा पौडेल र वाम गठबन्धनका राजमोका कृष्ण थापाबीचको प्रतिस्पर्धालाई पनि महत्वका साथ हेरिएको छ।

सबैको सहमतिमा ताला

बाग्लुङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले दलहरूकोे माग र उम्मेदवारहरूको चाहनाअनुसार नै ताला लगाइएको बताए। ‘मतदानस्थलमा जस्तै गरी मतपेटिकाको सुरक्षा गरिरहेका छौँ,’ पण्डितले भने, ‘दल र उम्मेदवारहरूको चाहना र सहमतिमा नै ताला लगाइएको हो।’ स्थानीय निर्वाचनमा ६८.७७ प्रतिशत मत खसेको बाग्लुङमा मंसिर १० गते भएको संघ तथा प्रदेश सभा निर्वाचनमा भने ६५ प्रतिशत मात्र मत खसेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.