|

सिन्धुपाल्चोक : पहिलो चरणको निर्वाचन भएको ८ दिन भइसके पनि मत गणना सुरु गर्न अझै तीन दिन बाँकी छ। मतपेटिका कडा सुरक्षाको साथमा राखिएको छ। मतपेटिकाको सुरक्षाको लागि सुरक्षाकर्मीसँगै नेपाली कांग्रेस र वाम गठबन्धन दुवैथरीका कार्यकर्ता बसेका छन्।

मतपेटिका सुरक्षामा कुनै चुनौती नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतपेटिका सुरक्षाका कुनै कसर बाँकी नराखेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बताउँछन्। ‘हामीले मतपेटिकाको सुरक्षाको लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई २४ घण्टा नै खटाएका छौं। दुवै प्रहरीको डिएसपीको कमान्डमा प्रहरी तैनाथ छन्। त्यसैले मतपेटिकाको सुरक्षाको विषयमा कुनै शंका लिनु आवश्यक छैन’ प्रजिअ तामाङले भने ‘मतपेटिकाको सुरक्षामा पार्टी प्रतिनिधिसमेत संलग्न भएकाले सुरक्षा दुरुस्त छ।’

२१ देखि हुन्छ गणना, २३ गते प्रतिनिधिसभाको परिणाम 

पहिलो चरणमा भएको निर्वाचनको सिन्धुपाल्चोकमा मतगणना २१ गते बेलुका ५ बजेदेखि सुरु गर्ने मुख्य निर्वाचन कार्यालयका प्रमुख दीपक खनालले जानकारी दिए। ‘२१ गते ५ बजेदेखि प्रतिनिधिसभाको मतगणना सुरु हुन्छ। कडा सुरक्षाको साथ हुने मतगणनाको नतिजा २३ गते बिहानसम्ममा ल्याउने तयारीका साथ अगाडि बढेका छौं’ प्रमुख खनालले भने ‘प्रतिनिधिसभाको मतगणना सकिएपछि मात्र प्रदेश र समानुपातिकको मतगणना सुरु हुनेछ।’

पार्टी प्रतिनिधि पनि मतपेटिका सुरक्षामा  

हेभिवेट भिडन्तले चर्चामा रहेको सिन्धुपाल्चोकको दुबै निर्वाचन क्षेत्रमा मतपेटिका सुरक्षाका लागि सबै पार्टीका प्रतिनिधिहरु २४ घण्टा नै खटिएका छन्। मतपेटिका राखिएको कोठामा सीसी क्यामेराको जडान गरिएकाले मतपेटिकाको सुरक्षा चुनौती नभएको वाम गठबन्धनका प्रतिनिधि लक्ष्मण सिलवाल बताउँछन्।

‘हामी मतसँगै आएर अहिलेसम्म सँगै छौं। चिसोको मौसम भएकाले बसाइ अलि कष्टकर छ। सीसी क्यामेराको व्यवस्था पनि भएको थिएन। पार्टी प्रतिनिधि १ जना मात्र थियौं' उनले भने 'अहिले सबै पार्टीको प्रतिनिधि सुरक्षा निगरानीमा बसिरहेका छौं। बसाइदेखि मतपेटिकाको सुरक्षामा कुनै समस्या छैन।’

सिन्धुपाल्चोक १ मा लोकतान्त्रिक गठबन्धनबाट सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र वाम गठबन्धनबाट पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभा २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा र वाम गठबन्धनबाट शेरबहादुर तामाङ प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.