|

  • रामहरि गजुरेल-

नुवाकोट : मन्दिरमा भगवानसँग वरदान माग्ने चलन धार्मिक मान्यतामा विश्वास राख्ने समाजमा सदियौंदेखि चल्दै आए पनि पूरा हुने वा नहुने कुनै वैज्ञानिक आधार भेटिएको त छैन। तर, नुवाकोटको एक धार्मिकस्थलमा वर्षेनी लाग्ने मेलामा भने मागेको पूरा हुने जनविश्वास रहिआएको छ।

विषेश गरी जोडी जुराउन र सन्तान माग्नकै लागि यहाँ लाग्ने परम्परादेखिको एउटा मेला नेपालकै सन्दर्भमा भने अलि अनौठो र फरक छ। जिल्लाको पूर्वमा रहेको राउतवेंशी गाविसमा पर्ने ऐतिहासिक एवं धार्मिक दुप्चेश्वर महादेवको मन्दिरमा निसन्तान भक्तजनहरु सन्तान प्राप्तिको कामना गर्दै मेला भर्न जाने अनौठो चलन आजसम्म पनि निरन्तर छ।

सदरमुकाम विदुरदेखि पूर्वमा रहेको साविकको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा साँस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ। हरेक वर्षको पुस महिनामा धान्य पूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला लाग्ने जिल्लाकै प्रसिद्ध दुप्चेश्वर मन्दिरमा मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ।

निःसन्तानलाई सन्तान दिने र अविवाहितले जोडी पाउने जनविस्वासले प्रसिद्धी पाएको दुप्चेश्वर मन्दिर नुवाकोटकै चर्चित र प्रमुख धार्मिक पर्यटकिय स्थलका रुपमा लिने गरिन्छ। यसै विश्वास अनुरुप यसपटक पनि विगत सात दिनदेखि राउतवेंसी–८ मा आइतबारसम्म लागेको मेलामा करिब डेढ लाखभन्दा बढी भक्तजनले दुप्चेश्वरको दर्शन गरिसकेका छन्।

मेलामा सात दिनसम्म गरी एक लाख ४० हजारले सहभागिता जनाएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। उनका अनुसार मेलामा सवै किसिमका मानिसहरु आएर दुप्चेश्वरमा पुजापाठ गर्नुका साथै दूध तथा नाम्लो चढाएका छन्।

यस मेला शिवरात्रीपछिको नेपालको दोस्रो ठूलो मेला हो। दोस्रो पशुपतिनाथले चिनिने यो मन्दिरमा धान्यपूर्णिमाको अबसरमा एक सातासम्म विशेष मेला लाग्ने पुजारी भगवानहरि धितालले बताए। विशेषगरी सन्तान नभएका दम्पतिहरु सन्तान हुने विश्वासमा पूजा आरधना गर्न पुग्छन् भने कतिपय सन्तान भए पनि दर्शन गराउन बालबालिकासहित पुग्छन्। बोली नफुरेका बालबालिकालाई दुप्चेश्वरमा दर्शन गराएमा बोली फुर्ने र दाम्लो चढाएमा नब्याएका गाई व्याउने जनविश्वास रहेको स्थानीय दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले  बताए।

यस्तो छ दुप्चेश्वरको पौराणिक कथन

पौराणिक कथनअनुसार चारसय वर्षअघि एक स्थानीयको दुहुनो गाई चराउन लैजाँदा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दूध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ।

अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आउने गरेको जनश्रुति पाइन्छ। त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पत्ति भएका र पछि अपभ्रंश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ। दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाडौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौं दम्पति भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन्।

'जे माग्यो त्यही पूरा हुने' धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन्। विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिका कुमार पण्डितले बताए।

दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्त हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पूरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ ओइरो लाग्छन्।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ। दुर्गम क्षेत्र समेत मानिने यस धार्मिकस्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ। मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागि उक्लने गरेका छन्। 

स्थानीय उत्पादन र धर्मसंस्कृतिको प्रवर्द्धन

धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ।  मेलामा शेर्पा जातीहरु ढ्याङ्ग्रो ठोक्दै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन्। तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत र नृत्यहरु यस मेलाको अर्को आकर्षण हो। यसका साथै स्थानीय उत्पादनहरुको बिक्री वितरणसमेत हुने गरेको छ।

मेलामा बाँस तथा चोयाको थुन्से, डोका डाला र धुपी काठको लाखौँ बराबरको व्यापार समेत हुने गर्दछ। यो मेला साँस्कृतिक र आर्थिक दृष्टिकोणबाटसमेत महत्वपूर्ण मानिँदै आएको छ। दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाइ छ। दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विशेष पहल हुनुपर्ने स्थानीयवासीहरुको माग छ।

सरकारी स्तरबाट यहाँ कुनै पनि पर्यटकीय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ। दुप्चेश्वर महादेव जस्ता धार्मिक एवं ऐतिहासिक सम्पदाको संवर्द्धन र प्रचारप्रसार गरी आन्तरिक एवं वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने वुद्धिजिवीहरुको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.