|

जनकपुरधाम : मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदा धनुषाका मतदाता र सर्वसाधारण उत्साहित छन्। पहिलो चरणमा केही फाटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भएकाले दोस्रो चरण पनि शान्तिपूर्ण रुपमै पूरा हुनेमा उनीहरू आशावादी देखिएका छन्।

‘स्थानीय निर्वाचनमा मेरो मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न सकिन, तर यसपटक मतदान कहिले गर्न पाइएला भन्ने लागेको छ' जनकपुर उप–महानगरपालिकाका प्रगतिनगरका सुजिताकुमारी महतोले भनिन् ‘पहिलो पटक भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा राम्रो जनप्रतिनिधि छान्न आतुर छु।’

दुई दशकसम्म सानो काम गर्न पनि आफ्ना घरका मानिसहरु कर्मचारीको पछि लाग्नुपरेको सम्झँदै उनले स्थानीय निर्वाचनमार्फत जनप्रतिनिधि चुन्ने निर्वाचनमा आफूले मतदान गर्न नपाएकोमो दुःख व्यक्त गरिन्। यसपटकको निर्वाचनमा भने जनप्रतिनिधि छान्ने मौका खेर नफाल्ने सुजिता बताउँछिन्।

नेपालमा पहिलो पटक संघीय संरचनाअनुसार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेका सर्वसाधारण पनि उत्तिकै हौसिएका देखिन्छन्। ‘मैले अहिलेसम्मको निर्वाचनमा मतदान गर्न पाएको छैन' जनकपुर उप–महानगरपालिकाका वडा नं. १४ कि सुनितदेवी सिंहले भनिन्, 'गत मंसिर ११ गते पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अरू प्रदेशका मतदाताले आफ्ना प्रतिनिधि छान्न लाइनमा बसेको सञ्चारमाध्यममा देख्दा मलाई पनि मतदान गरौं गरौं लाग्यो।’

तीन वर्ष अघिसम्म भारतीय नागरिक रहेकी जनकपुर उप–महानगरपालिका वडा नं. ७ जानकी चोककी सभाना खातुन पनि स्थानीय निर्वाचनमा मतदान गर्न उत्साही छन्। ‘म पहिले भारतीय थिएँ। तीन वर्षदेखि नेपाली नागरिक भएकी छु,’ उनले भनिन्, ‘नेपालमा पहिलो पटक संघीय संरचना अनुसार भएको निर्वाचनको यो अवसर हामीले पनि शान्तिपूर्ण वातावरणमा पाउनुपर्छ।’

पहिलो चरण अन्तर्गत भएको पहिलो चरणको मतदानबारे सञ्चार माध्यबाट सुन्न र हेर्न पाएका राजकिशोर सिंहले भने, ‘यस्तो हाम्रो पालो कहिले आउला भनी पर्खाइमा थिएँ, तर अब पर्खाइको घडी समाप्त भयो, सरकारले हामीलाई पनि जनप्रतिनिधि छनोट गर्ने अवसर जुराइदियो।’

तोकिएकै मितिमा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा समेत शान्तिपूर्ण र स्वच्छ तथा निष्पक्ष हुनेमा तराई–मधेसका जिल्लावासी पनि आशावादी छन्। ‘छिटपुट घटना बाहेक पहिलो चरण सम्पन्न भएको छ,’ धनुषाका मानव अधिकारकर्मी किरण कर्ण भन्छन्, ‘यसले सकारात्मक सन्देश दिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.