|

  • देवानन्द न्यौपाने-

लम्की: कैलाली र कञ्चनपुरमा दुई दिनदेखि एक्कासि चिसो बढेपछि यस क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ।

स्थानीय लम्की, टीकापुर, बौनिया, बलिया, चुहा, पहलमानपुर, चौमाला, सुखड, अत्तरिया, धनगढी, महेन्द्रनगरलगायतका बजार तथा यस क्षेत्रका ग्रामीण भेगका मानिसहरू जम्मा भएर आगो तापेर चिसो कटाइरहेका छन्। जाडोले  विशेषगरी  बूढाबूढी तथा बालबालिका मारमा परेका छन्।

चिसोले बूढाबूढी, बालबालिका र आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग बढी प्रभावित भएका छन्। बजारमा  मानिसहरूको आवतजवात  पनि  पहिलेको तुलनामा  निकै  कम भएको छ। बदलिँदो मौसमले गर्दा यस  समयमा मानिसहरू बढी बिरामी हुने भएकाले  सम्पूर्णलाई  घरबाहिर निस्कँदा न्यानो कपडा लगाएर बाहिर निस्कनसमेत  चिकित्सकहरूले  सुझाव दिएका छन्। चिसोको कारण निमोनिया, दम, खोकी, पेट दुख्ने र ज्वरो आउने बिरामीको संख्यामा वृद्धि हुनसक्ने भएकाले सचेत रहन चिकित्सकहरूले सल्लाह दिएका छन्।

जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत चिसोका कारण बिरामी भएकाहरू आउने क्रम बढेको छ। तापक्रम प्रति दिन घट्दो क्रममा रहेकाले अझै चिसो बढ्ने देखिएको छ। चिसोका कारण हिउँदे तरकारीसमेत सुक्ने संभावना हुन्छ। टमाटर, आलु, बन्दा र काउलीलाई शीतलहरले प्रभावित गर्ने कृषि विज्ञहरूले जनाएका छन्।

यस्तै, जाडो मौसममा पशुलाई न्यानोका लागि गोठमा सोत्तरको व्यस्था गरिनुपर्ने पशु विज्ञहरूले सुझाव दिएका छन्। गाई भैँसीमा चिसोका कारण घाँस नखाने, छेर्नेजस्ता लक्षण देखिन सक्ने भएकाले उनीहरूले पशुको स्याहारमा पनि ध्यान दिनुपर्ने बताएका हुन्। चिसोले  पशुमा श्वास प्रश्वासमा समस्या, आउँ देखिने, दूध उत्पानदमा कमी, दुब्लाउँदै जानेलगायतका समस्या देखिन सक्ने भएकाले सचेत हुन किसानहरूलाई आग्रह गरेका छन्।

दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका मजदुरहरू अत्यधिक चिसो भएपछि समस्यामा परेका छन्। जाडो मौसम सुरु भएसँगै यस क्षेत्रमा दाउराको कारोवारसमेत बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.