|

तनहुँः मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँमा एउटा मतदान केन्द्र महिलामैत्री बनेको छ। उक्त केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयंसेवकलगायत सुरक्षाकर्मीका इञ्चार्जसमेत महिला खटाइएको छ। 

व्यास नगरपालिका– ३ शान्तिनगरस्थित महर्षि वेदव्यास संस्कृत मावि मतदान केन्द्र जिल्लामै रोचक र उदाहरणीय बन्न पुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस केन्द्रलाई महिलामैत्री मतदान केन्द्र बनाएको हो। 

अझ रोचक त सुरक्षाकर्मी इञ्चार्जसमेत महिला नै छन्। उक्त केन्द्रको मतदान केन्द्र ‘ख’मा प्रहरी सहायक निरीक्षक निरला भण्डारीको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन्। 

मतदान केन्द्र ‘क’ मा मायाकुमारी बराल मतदान अधिकृत र ‘ख’ केन्द्रमा बुनु गौडेल मतदान अधिकृत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ। 

दुवै मतदान अधिकृतहरूले आजसम्म कसैले नियुक्ति नलिएको भएर पनि महिलामैत्री देखिएको हो कि भन्ने आँकलन गरेका छन्। ‘ख’ केन्द्रकी मतदान अधिकृत बुनु गौडेलले महिलासँग मात्रैको काम गर्ने अवसरले निष्पक्ष र शान्त वातावरणमा मतदान सम्पन्न गराउन थप सहज हुने बताइन्। 

‘निष्पक्ष, शान्त र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने प्रयासमा छौँ’, उनले भनिन्, ‘विद्यालयको भौतिक संरचनाअनुसार व्यवस्थित नभएकाले बसोवास गर्न जाडोमा सास्ती खेप्नुपरेको छ।’ 

उक्त केन्द्रमा मतदान अधिकृतसहित ८/८ जना कर्मचारी खटाइएको उनले बताइन्।

महर्षि वेदव्यास मतदान केन्द्र ‘क’बाट ७९६ र ‘ख’बाट ८०४ मतदाताले मतदान गर्ने केन्द्रमा १० जना अपांगता भएका मतदाता रहेकाले अपांगमैत्री मतदान केन्द्र निर्माणमा मतदान अधिकृतहरू लागिरहेका छन्। अन्यको हकमा भने नियमावलीमा राखिएको प्रावधानअनुरूप प्राथमिकतामा राखिने उनीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.