पूर्व नेपाली सैनिकसहित १२ जना मंगलबार पक्राउ

|

इलामः इलाममा निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ।  

प्रहरीले मंगलबार निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा सृर्योदय नगरपालिका– १ गोर्खेबाट १२ जनालाई पक्राउ गरेसँगै यो संख्या २५ पुगेको हो। गत कार्तिक २६ गतेदेखि मंसिर १६ गतेसम्ममा १३ जना पक्राउ परेका थिए। 

मंगलबार पक्राउ पर्नेमा भूतपूर्व नेपाली सैनिक चितवनका ५१ वर्षका वसन्तबहादुर बराल, चितवनकै ४९ वर्षका मुक्तिनाथ अधिकारी, तनहुँका २८ वर्षका रामु सुवेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मीका २० वर्षका तेजेन्द्र जीसी, गुल्मीकै १७ वर्षकी कोपिला थापा रहेका छन्। 

त्यसैगरी पक्राउ पर्ने अन्यमा काठमाडौंका ४१ वर्षका कृष्ण थापा, काठमाडौंकै ३२ वर्षकी मीना केसी, तेह्रथुमका २९ वर्षका कृष्णप्रसाद अधिकारी, संखुवासभाका २९ वर्षका अर्जुनकुमार गौतम, संखुवासभाकै रमेश गौतम र रूपन्देहीकी २० वर्षकी माया पुलामी रहेका प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीहरूको साथबाट गौरव युवा एकता पीडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीन थान नागरिकता, चार थान मतदाता परिचयपत्र र नेपाली चार हजार ४०० तथा भारतीय दुई हजार ५७० रूपैयाँ बरामद गरेको छ।

गोर्खे प्रहरी चौकीबाट खटिएर गएको प्रहरीको टोलीले गोर्खेस्थित सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक विपीनकुमार कर्माचार्यले बताए। पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कर्माचार्यले जानकारी दिए। 

आउँदो बिहीबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि इलाम प्रहरीले सुरक्षा सतर्कतालाई कडा बनाउँदै लगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.