|
फोटो–राजधानी दैनिक

वीरगञ्ज : गाउँगाउँमा भोट माग्न पुगेका नेताहरूका मीठामीठा आश्वासनले पर्साको पिडारीगुठीका जनताको मन मौन अवधि सुरु हुनैलाग्दा पनि अझै छुन सकेको छैन। पटकपटक नजिकैको ओरिया खोलामा आउने भारतीय बालुवा तस्करको बलमिचाइबाट गाउँलाई कसरी जोगाउने भन्ने चिन्ताको मलमपट्टि लगाउन सक्ने विश्वासिलो नेता उनीहरूले अझै फेला नपारेको बताए।

पर्साको सीमावर्ती गाउँ पिराडीगुठीवासीले नेताहरूबाट विकास र अधिकारको अश्वासनभन्दा पनि गाउँ बचाउने र नेपाली भूमिको रक्षा गर्छु भन्न सक्ने नेता खोजेका छन्। उनीहरूलाई त्यो आश्वासनभन्दा विकासे आश्वासन दिने नेता मात्र गाउँमा आउने गरेकाले अझै निर्वाचनको तरंंगले मन छुन नसकेको बताए।

‘सीमापारिबाट आउने भारतीयहरूले हरेक वर्ष गाउँवासीमाथि नै आक्रमण गरी नदीको बहाव नै बदलिनेगरी नेपाली भूमिबाट जबर्जस्ती बालुवा लान नपाऊन् भन्ने हाम्रो मुख्य माग हो,’ स्थानीयवासी भन्छन्, ‘यो माग पूरा गर्छु भन्ने आँट भएका नेताको खोजीमा हामी बसेका छौं।’ स्थानीय फूलमती चौधरीले निर्वाचनको मुखमा दिइने आश्वासनमा पनि यो समयस्याको समाधान गर्छु भन्ने सुन्न मन भएको बताइन्।

हरेक वर्ष हुने सीमा विवाद र यसले निम्त्याउने समस्या पनि उनीहरूका लागि कम पीडादायी छैनन्। नेताका एजेन्डामा पनि भारतबाट दैनिक रूपमा सयौं ट्याक्टर लिएर बलजफ्ती रूपमा नेपाली भू–भागमा पसेर बालुवा उत्खनन गर्ने माफियाको चँगुलबाट पिराडीगुठीवासीलाई मुक्ति दिने आश्वासन पनि नआएको उनीहरूको गुनासो छ।

पर्सा–४ मा पर्ने यो गाउँमा सबै दलका उम्मेदवार घरदैलो गर्न पुगे। विकासे एजेण्डा पनि सुनाए। तर नदीमा भइरहेको अवैध बालुवा चोरी निकासी नियन्त्रण गरी गाउँ जोगाउने एजेन्डा भने कसैले सुनाएनन्। त्यसकारण सबै दलका उम्मेदवारप्रति उनीहरूको मन कुँडिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.