|

ओखलढुंगा : जिल्ला समन्वय समिति ओखलढुंगाको परिसरमा मतपेटिका कुर्न बसेका दलका प्रतिनिधिहरुलाई रात काट्न सकस छ। तर पनि चिसो रात, टेण्टको बसाइको कुनै परवाह नराखी उनीहरू २४ घण्टै पहरेदारी गरिरहेका छन्।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा दुईवटा टेण्ट राखिएको छ, त्यही टेण्टभित्र दलका प्रतिनिधि रात कटाउँछन्। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका लागि भनेर छुट्टाछुट्टै टेण्टको व्यवस्था गरे पनि लोकतान्त्रिक गठबन्धनको टोली भने राति जाँदैनन्।

मंसिर १० मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिका जिल्ला समन्वय समिति कार्यालयको नयाँ भवनको सानो सभाहलमा भण्डारण गरिएको  छ। मतपेटिकालाई सुरक्षा निकायले तीन घेरामा राखी सुरक्षामा दिइरहेका छन्। ब्यालेट बक्समा बन्द गरिएको ओखलढुंगेलीको जनमतलाई तलमाथि हुन नदिन  रातभर पहरेदारी गरिरहेका भन्दै माओवादी केन्द्र तथा वाम गठबन्धन ओखलढुंगाका सचिवालय सदस्य शम्भु धमलाले मतदातालाई शंका र उपशंका नगर्न आग्रह गरे।

मतपेटिका राखिएको स्थानमा कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनको भने खासै उपस्थिति छैन। वामगठबन्धन लगायत अन्य साना दलहरूले भने पालो लगाएर पहरा दिइरहेका छन्। 'कांग्रेसको टोलीचाहिँ मतपेटिका राखेको स्थानमा किन पहरेदारी नगरेको' भन्ने प्रश्नमा कांग्रेस ओखलढुंगाका सचिव एवं सुनकोशी गाउँपालिकाका प्रमुख रुद्रप्रसाद अधिकारीले सुरक्षा निकायको सबै शक्ति परिचालन भई सुरक्षा दिइरहेको स्थानमा आफ्नो पार्टीको पूर्ण विश्वास भएकाले आफूहरु नगएको बताए।

‘मतपेटिकाको सुरक्षाका लागि सुरक्षा निकायका तीनैवटा अंग परिचालन भएको छ। सगै वामगठबन्धनका साथीहरूले पनि पहरेदारी दिइरहेका छन्। उहाँहरूले गर्नुभएको निगरानीप्रति हामी पूर्ण विश्वस्त पनि छौं', अधिकारीले थपे, 'मतपेटिका राखिएको हलको ढोकामा सबै राजनितीक दलका प्रतिनिधहरूको रोहवरमा मुचुल्का उठाएर टाँसिएको पनि छ। त्यसका बाबजुत दिउँसो  हामीहरूले पनि निगरानी गरिरहेका छौं।’

मतपेटिका राखिएको सभाहलको दुवै तर्फको ढोकामा सिक्रीकासाथ ताल्चासँगै तारबारले घेरिएको छ। ताल्चा सगै राजनितिक दलहरूको रोहवरमा उठाइएको हस्ताक्षर गरेको मुचुल्का पत्रलाई ढोकामा टासेर लाहाछाप समेत लगाइएको छ। ताल्चा लगाइएको ढोकामा प्रत्येक राजनीतिक दलको एक–एक वटा ताल्चासँगै निर्वाचन आयोगले पनि अर्को ताल्चा लगाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेराको सुरक्षा व्यवस्था भए पनि दलका प्रतिनिधिहरु रातभर निदाउँदैनन्। वाम गठबन्धनका तर्फबाट एमाले, माओवादीका प्रतिनिधि छन्। त्यस्तै संघिय समाजवादी फोरम, नयाँशक्ति पार्टीका पार्टी प्रतिनिधिहरूले पनि सुरक्षा निकाय सगै पहरा दिइरहेका छन्। जनताको जनमतमाथि कुठाराघात नहोस् भनेर नौ दिनदेखि २४ घण्टे पहरेदारी गरिरहेको एमाले निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष अशेष श्रेष्ठले बताए।

२१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि साँझ ५ बजेदेखि यहाँको मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। मतगणनाका लागि खटिने आवश्यक कर्मचारीको बारेमा पनि छलफल भइरहेको बताइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनालाई छरितो र सहज बनाउन आवश्यक तयारी गरेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.