|

मंसिर : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि गोरखामा तयारी तीव्र पारिएको छ। यही मंसिर १० गते सम्पन्न निर्वाचनको मतगणना २१ गते दोस्रो चरणको मतदान सम्पन्न भएपछि सुरु हुनेछ। मतगणनाको तयारीका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणनास्थल र दलका प्रतिनिधि तथा उम्मेदवार बस्ने ठाउँको बीचमा तारजाली लगाइएको छ। मतगणना गर्न बसेका कर्मचारीहरु भएको ठाउँमा दलका नेता कार्यकर्ता छिर्न सक्दैनन्। हेर्न भने मिल्ने बनाइएको छ।

हेभीवेट उम्मेदवार प्रतिस्पर्धामा रहेको गोरखामा मतगणनाका क्रममा आउनसक्ने सम्भावित जटिलतालाई मध्यनजर गर्दै गणनास्थलमा तारजाली लगाइएको हो। गोरखा क्षेत्र नम्बर २ बाट नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन्।

निर्वाचनजस्तै मतगणनालाई पनि शान्तिपूर्णरुपमा सम्पन्न गर्न तयारी गरिरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए। ‘२१ गते बिहीबार साँझ ५ बज्नेबित्तिकै हामी कहाँ मतगणना सुरु हुन्छ’, पौडेलले भने ‘मतपत्रको सुरक्षाका लागि दलका प्रतिनिधि र गणक कर्मचारी बस्नेबीचमा तारजाली लगाएका छौँ, गणनाका क्रममा दुर्घटना नहोस् भन्ने हाम्रो चाहना हो।’

नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले तीनवटा घेराबाट चौबिसै घण्टा सुरक्षा दिइरहेका छन्। सुरक्षाकर्मीसँगै राजनितीक दलका प्रनितिधिहरुले पनि रात दिन नभनी मतपेटिका कुरिरहेका छन्। गोरखा– १ मा ६३ हजार ६ सय ७२ र २ मा ६० हजार १ सय ९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना सक्न करिब १० दिन लाग्ने अनुमान गरिएको निर्वाचन अधिकारी नारायण सापकोटाले बताए। ‘संघ र प्रदेशको मत गणना सकेर मात्रै समानुपातिकको सुरु हुन्छ,’ उनले भने। मतगणनाका लागि ६० जना कर्मचारी छनोट गरेर तालिम पनि दिइएको छ।

गोरखा क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठ र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता हरिराज अधिकारी चुनावी मैदानमा छन्। गोरखा क्षेत्र नं. १ प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेता धिरन थापा र वाम गठबन्धनबाट माओवादीका नेता लेखबहादुर थापाबीच प्रतिस्पर्धा छ भने प्रदेश (ख) मा कांग्रेस युवा नेता राजेन्द्र बजगाइँ र एमाले केन्द्रीय सदस्य रामशरण बस्नेत प्रतिस्पर्धामा छन्।

यस्तै क्षेत्र नं. २ प्रदेशसभा (क) मा नयाँ शक्तिका हरिशरण आचार्य र माओवादी केन्द्रकी नेतृ कमला नहर्की तथा प्रदेशसभा क्षेत्र (ख) मा कांग्रेस नेता प्रकाशचन्द्र दवाडी र माओवादी नेता अमर तमुबीच प्रतिस्पर्धा हुँदैछ। २८२ वटा मतदान केन्द्रबाट ल्याएका ८४६ वटा मतपेटिका सदरमुकामस्थित महिला तथा बालबालिका कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा राखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.