|

काठमाडौं: बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि मतदाताहरू राजधानीबाट बाहिरिएसँगै राजधानीमा अहिले मानिसको चाप क्रमश: घट्दै गएको छ। बिहीबार ४५ जिल्लामा प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने भएपछि भोट हाल्नका लागि क्रमश: काठमाडौंबाट बाहिरिनेको संख्या बढ्दै गएको छ।

तर सधैँ व्यस्त रहने रत्नपार्क र वीर अस्पताल क्षेत्र भने निर्वाचनको अघिल्लो दिन पनि त्यस्तै व्यस्त थियो। रत्नपार्क क्षेत्रमा कोही फुटपाथमा व्यापार गर्दै थिए त कोही आफ्नो कामका कारण त्यहाँ आएका थिए। वीर अस्पताल क्षेत्रमा उपचार गराउन आउने र बिरामी कुरुवाको त्यस्तै भीड थियो। त्यस क्षेत्रमा हामीले बुधबार भेटेकामध्ये अधिकांश काठमाडौंबाहिरका थिए।

उनीहरूको जिल्लामा बिहीबार पाँच वर्षका लागि आफ्नो प्रतिनिधि चुन्नका लागि मतदान हुँदै छ। अधिकांशले भोट हाल्ने रहर भए पनि बाध्यताका कारण भोट हाल्न आफ्नो जिल्ला जान नसकेको बताउँदै थिए। पाँच वर्षका छोरा बिरामी भएर काठमाडौंको वीर अस्पताल आएका वीरगंजका रुदल दासले भोट हाल्ने मन हुँदा हुँदै पनि बाध्यताले नपाएको बताए। उनले भने, ‘भोट हाल्ने मन थियो। यहाँ आउनुभन्दा अघि प्रचार प्रसारमा पनि हिँडेको थिएँ तर छोरा बिरामी छ। भोलि नै छोराको अपरेसन छ। म कसरी जानु र?’

आफ्नो यस्तै बाध्यता सुनाउँदै थिए कैलालीका चक्रबहादुर गौली। भोट हाल्ने इच्छा हुँदा हुँदै गाउँ छाडेर आउनुको पीडा उनी सुनाउँदै थिए। ‘भोट हाल्ने कुन नेपालीलाई रहर हुँदैन होला र!’, उनले भावुक हुँदै भने, ‘गाउँमै बसेर पाँच वर्षका लागि आफ्नो प्रतिनिधि छान्ने त रहर थियो तर भोलि नै मेरो मलेसियाका लागि उडान छ।’

अर्को पटक फर्केर आउँदा देशमै रोजगारी पाउने अवस्था सृजना भएको हेर्ने मन रहेको उनले बताए। उनले भने, ‘यस पटक त चुनाव छाडेरै विदेशिनुपरेको छ तर अर्को पटक नेपाल फर्कँदा नेपालमा नै रोजागारी होस्। देशको विकास भएर हामी अर्काको देशमा जानु नपरोस् भन्ने कामना छ।’

तर उदयपुर चौदण्डीगढी नगरपालिका घर भई अहिले काठमाडौंमा अध्ययनरत रमिला राईको बुझाइ अलिक फरक छ। उनले स्थानीय तहको निर्वाचनमा भोट हाल्न उदयपुर पुगे पनि यस पटक भने गइनन्। ‘स्थानीय तहको निर्वाचनमा पो गाउँका आफ्नै मान्छे उठेका थिए र गएँ। तर अहिले त कोही चिनेको छैन’, उनले भनिन्, ‘आफ्नो खर्च गरेर भोट हाल्नुपर्छ जितेपछि हामीलाई चिन्दैनन् अनि किन यहाँबाट खर्च गरेर गएर भोट दिने?’

वीर अस्पताल अगाडि खरबुजाको व्यापार गरिरहेकी तेह्रथुम वसन्तपुरकी ३० वर्षका गोमा घिमिरे भोट दिने मन हुँदा हुँदै पनि दिन नपाएको बताउँछिन्। उनले भनिन्, ‘२०६४ सालमा भोट हालेदेखि अहिलेसम्म हाल्न पाएको छैन। काठमाडौं आएको पनि सात वर्ष भयो। अहिले त भोट हाल्न पनि नागरिकताले हुँदैन रे! परिचयपत्र पनि बनाएको छैन।’

आफ्नो जिल्लासम्म पुग्ने खर्च नभएका कारण मतदाता परिचयपत्र नबनाएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘यो खरबुजा बेचेर कति हुन्थ्यो र! काम नगरेसम्म बालबच्चालाई साँझ कसरी खुवाउने भन्ने चिन्ता हुन्छ। परिचयपत्र बनाउने बेला थाहा त पाएको थिएँ तर त्यसबेला जाने खर्च थिएन। अहिले भोट हाल्न जाने सोच बनाएको थिएँ। नगरिकताले मात्र हुँदैन रे!’

रत्नपार्क बदाम बेच्दै गरेकी सिन्धुली कालापानीकी ३५ वर्षका कुमारी मोक्तानलाई आफ्नो मत अधिकारको प्रयोग गर्न नपाउनुको पीडा एकातर्फ छँदै छ, अर्कोतर्फ नागरिकता नबन्नुको पीडा छ। ‘भूकम्पका कारण श्रीमानको नागरिकता हराएको थियो। उहाँको बन्यो, मेरो पनि बन्छ भनेर जिल्ला प्रशासन कार्यालय पटक पटक गएँ। सबै तयारी गरेँ’, उनले भनिन्, ‘तर पछि माइतीको सिफारिस भएन भने। खर्च पनि सिन्धुली गएर बस्दा धेरै सकिएको थियो अनि नबनाई फर्किएँ।’

भोट हाल्न पाए आफ्ना समस्याहरू नेता समक्ष राख्न पाउने उनको बुझाइ छ। उनले भनिन्, ‘भोट हाल्न जान पाए त नेतालाई समस्या पनि सुनाउन पाइन्थ्यो होला। भूकम्पले घर भत्काएर काठमाडौं बस्नुपरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.