|
बागलुङमा मतगणनाका लागि तारबारसहित मतगणनास्थल बनाइदै।

बागलुङ : दोस्रो चरणको निर्वाचन सकिएलगत्तै बिहीबारदेखि सुरु हुने मतगणनाको लागि बागलुङमा तारजालीको घेरा बनाएर सिसी क्यामेरा निगरानी सहितको गणनास्थल तयार हुँदै छ।

पहिलो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको बागलुङको मतगणना कडा सुरक्षा व्यवस्थाबीच जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार साँझ पाँच बजेदेखि गर्ने तयारी छ।

८ वटा सिसी क्यामेराको निगरानीमा रहने गरी तारजालीको घेराभित्र मतगणना गर्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतपत्रको सुरक्षालाई ध्यानमा राखेर उम्मेदवार तथा दलका प्रतिनिधि  र गणक कर्मचारी रहने बीचको भाग छुट्याउन जालीको घेरा बनाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश पण्डितले जानकारी दिए। मत गणना गर्ने कर्मचारीले तारजालीको घेरा भित्र बसेर मत गनेको दलका प्रतिनिधि बाहिरै बसेर अवलोकन गर्न सक्नेछन्। 

‘अचानक हुनसक्ने घटनाबाट मतपत्रको सुरक्षामा कुनै समस्या नहोस् भनेर यस्तो व्यवस्था गर्नुपरेको हो,’ पण्डितले भने, ‘विगतमा मतपत्र नै च्यातिने गरी भएको घटना जस्ता कमजोरी फेरि नहोस भनेर उच्च सतर्कता अपनाएका छौँ।’

उनले खुला लोकतान्त्रिक शासन व्यवस्थामा तारजालीभित्र मतगणना गर्नु शोभनीय नभएपनि सम्भावित दुर्घटनालाई मध्यनजर गरेर यसो गर्नुपरेको बताए।

एकैपटक ८ ठाउँमा मतगणना गर्ने व्यवस्था गरिएको छ। दुईवटा निर्वाचन क्षेत्रको छुट्टा छुट्नै ४÷४ ठाउँमा मतगणना गर्ने तयारी गरिएको छ। गणना स्थलमा सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी त्यसपछि सशस्त्र प्रहरी र सबैभन्दा बाहिरको घेरमा नेपाली सेना रहने पण्डितले जानकारी दिए।

मतगणनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छफलफ गर्न राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधि सहितको सर्वदलिय बैठक बुधबार दिउँसो बस्दै छ।   

मंसिर १० गते भएको निर्वाचनका लागि यहाँ १ लाख ६७ हजार २ सय ८२ मतदाता रहेकोमा ६५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

बुथ कब्जा’ को उजुरीमा आयोगले निर्णय गर्दै

नेपाली कांग्रेसले जिल्लाका तीन स्थानमा वाम गठबन्धनबाट ‘बुथ कब्जा’ भएको भन्दै फेरि मतदान गर्नुपर्ने मागसहित गरेको उजुरीमा निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको राय मागेको छ।

कांग्रेसका उम्मेदवारले वाम गठबन्धनबाट निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन सकिएको चार दिन पछि उजुरी दर्ता गराएका थिए।

उजुरीबारे निर्वाचन आयोगले सम्बन्धित मतदान अधिकृतको प्रतिवेदन माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले प्रतिवेदन पठाएको थियो। फेरि मुख्य निर्वाचन अधिकृतको पनि राय माग गरेकोमा सम्बन्धित मतदान स्थलमा खटिएका सुरक्षा प्रमुखसँग जानकारी लिएर आफ्नो राय पठाएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए।

बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बरेङ गाउँपालिकाको धुल्लुबास्कोटमा वाम गठबन्धनले एकलौटी मतदान गरेको काँग्रेसको आरोप छ। कांग्रेस बागलुङका सभापति तथा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश सभा–१ का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश सभा–२ का उम्मेदवार प्रकाश शर्मा पौडेलले पुनः मतदानको मागसहित उजुरी दिएका थिए।

वाम गठबन्धनले भने निर्वाचन स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको चार दिनपछि उजुरी पर्नु नियोजित र पराजित मानसिकताको उपज भएको बताउँदै आएको छ।

यस्तो अवस्थामा मतगणना के हुन्छ भन्ने प्रश्न गर्दा मुख्य निर्वाचन अधिकृत पण्डितलेअब निर्वाचन आयोगले गर्ने निर्णय अनुसार हुने जानकारी दिए। उनले मतगणना भन्दा अघि नै आयोगले यसबारे निर्णय गरेर जानकारी गराउने बताए।

बागलुङमा नेकपा एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चाले वाम गठबन्धन र नेपाली काँग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धन बनाएर चुनाव लडेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.