|

केही दिन पहिले धर्म गुरु दलाई लामाले बुद्ध भारतमा जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएकोमा सामाजिक संजालहरूमा नेपालीले धेरै विरोध गरेको देखियो। पछि दलाई लामाले नै बुद्ध नेपालमा जन्मेका हुन् भनेपछि यो कुरा साम्य भएको थियो। 

लामाको यो भनाइले मलाई चीन घुम्दाका क्षणको सम्झना गरायो, किनकि बेजिङस्थित पाताछु मन्दिर र लामा मन्दिरमा मलाई चिनियाँहरूले ‘बुद्ध जन्मिएको देश इन्डियाबाट आएको तिमी?’ भनेर सोधेका थिए। चाइना रेडियोमा कार्यरत भाइ चेतनाथले ‘बुद्ध नेपालमा जन्मिएका हुन् र हामी बुद्ध जन्मिएको देशबाटै आएका हौँ’ भनेर सम्झाउन धेरै समय खर्चिनुपरेको थियो। पछि चेतनाथबाटै थाहा भयो, चिनियाँ सूचना स्रोत र विद्यार्थीलाई पढाउने पाठ्यपुस्तकमै बुद्ध भारतमा जन्मिएका हुन् भन्ने उल्लेख छ रे! 

विश्व सम्पदा सूचीमा लुम्बिनीलाई बुद्धको जन्मथलो भनेर राखिसकेको तथ्य हुँदाहुँदै पनि चिनियाँ सूचना स्रोतमा किन बुद्ध भारतमा जन्मिएका हुन् भनेर राखियो त? यो नै मनमा उठेको आश्चर्यलाग्दो प्रश्न भइरहेको छ मेरा लागि। 

नेपाल र चीनको दौँत्य सम्बन्ध धेरै पहिलेदेखि भइरहेको इतिहासमा उल्लेख छ। उत्तराद्र्धमा आएर त राजनीतिक परिवर्तनका साथसाथै कम्युनिष्ट विचारधारा बोक्ने धेरै नेता र नेपाली नागरिकहरू चीनको भ्रमणमा पुगिसकेका छन् तर उनीहरूको नजरले किन त्यो सूचना स्रोतमा उल्लेख गरेको विषयलाई नियाल्न सकेनन्? के उनीहरूले यो विषय उठान नै गरेका छैनन् त? अनि दलाई लामालाई गाली गर्नुभन्दा पहिले चीनका जनतामा फैलिएको त्यो भ्रममा रुमलिएको गलत समाचारलाई सच्याउन जरुरी हुन्न र? 

बेइजिङस्थित लामा टेम्पल पनि विश्व सम्पदामा सूचीकृत भएको साँस्कृतिक बिम्ब हो। मूल गेटबाट पसेपछि तिब्बती शैलीमा निर्माण गरिएका एकपछि अर्को गर्दै आधा दर्जन मन्दिरहरू पार गरेपछि मात्र पुगिने रहेछ मूल मन्दिरमा। दक्षिणमा रहेको मूल गेटबाट पसेपछि उत्तरी कुनामा रहेछ मूल मन्दिर। पहिलो मन्दिरदेखि नै चिनियाँहरूले मन्दिरबाहिर एक हातभन्दा लामो, कान्छी औँलाको जस्तो गोलाइको धूप बालेर घुँडा टेकेर प्रार्थना गरेको हेर्दै म अगाडि बढिरहेकी थिएँ।

चिनियाँहरूको अगाडि पुगेर बुद्ध नेपालमा जन्मिएका हुन् भनेर सूचना स्रोतमा सच्याउन र मैत्रेय बुद्धको काष्ठमूर्ति नेपालबाट ल्याइएको हो भनाउन हाम्रा अगुवा नेताहरू र कूटनीतिज्ञहरू किन सक्दैनन्?

भाषाको समस्याले गर्दा कुनै पनि चिनियाँसित बोल्ने कुरै भएन। भाइ चेतनाथले मलाई मन्दिरको बारेमा बुझाइरहेका थिए। एउटा मन्दिरबाट निस्किएपछि आँगन जस्तो खाली ठाउँ, जहाँ बालिएको धूप राख्ने ठूलठूला भाँडाहरू थिए। अन्त्यमा हामी मैत्रेय बुद्धको विशाल मूर्तिको अगाडि पुग्यौँ। मन्दिरको ढोकामा राखिएको जानकारी पाटीमा उल्लेख भएअनुसार यस मूर्तिको उचाइ जमिनमुनि आठ र जमिनमाथि १८ मिटर रहेछ। एउटै काठबाट बनाइएको यो मूर्ति पनि त्यहाँ तिब्बतबाट ल्याइएको भन्ने उल्लेख छ। तर चिनियाँहरूले केही पनि जानकारी लिनुपर्ने भयो भने गुगल जस्तै पाइतुमा भने हेर्ने रहेछन्। पाइतुमा भने यो मूर्ति कपिलवस्तुबाट तिब्बतका सातौँ दलाई लामालाई दिइएको उल्लेख रहेछ। 

कपुरको काठबाट बनेको यो मूर्तिको दर्शन गर्न दैनिक लाखौँ पर्यटक त्यहाँ पुग्ने रहेछन्। त्यहाँ पनि त नेपालको नाम उल्लेख भइदिँदा हामीले पनि गर्व गर्ने कुरा हुने थियो होला! 

सन् १९४९ मा चीनमा कम्युनिष्ट शासन आएपछि यो मन्दिर बन्द गरिएको रहेछ। सन् १९८१ मा ३२ वर्षपछि मन्दिर खोलाइएको रहेछ। बुद्ध धर्मावलम्बीहरूका अनुसार विश्वकै सबैभन्दा अग्लो मैत्रेय बुद्धको यस मूर्तिलाई दश हजार सुखको प्रतीक मान्दा रहेछन्। यो मूर्ति राखिएको हललाई सीमारहित सुखको हल भनिदोरहेछ। सन् १९९३ मा नै सबैभन्दा ठूलो काष्ठमूर्ति भनेर गिनिज बुकमा समेत लेखिएको यति ठूलो सम्पदा नेपालको कपिलवस्तुबाट ल्याइएको पाइतुमा उल्लेख हुँदाहुँदै पनि नेपालको नाम कतै नआउनु! मन अमिलो पार्नुबाहेक के नै पो गर्न सकिन्छ र? 

नेपालले कुरा नउठाएसम्म चिनियाँहरूलाई के मतलब र! उनीहरूले त लेखेकै छन्, तिब्बतबाट सातौँ दलाई लामाले छिङलोङ बादशाहलाई उपहार दिइएको र तिब्बतबाट बेइजिङ ल्याउन तीन वर्ष लागेको थियो भनेर। 

चिनियाँहरू अरूको सम्मान कसरी गर्नुपर्छ भन्ने कुरामा कञ्जुस्याइँ नगर्ने रहेछन्। बेइजिङमै रहेको अर्को महत्त्वपूर्ण सम्पदा श्वेत चैत्य हेर्न जाँदा मलाई त्यस्तो अनुभव भयो। नेपाली कलाकार अरनिकोले चीनका विभिन्न ठाउँमा गएर नेपाली कला प्रस्तुत गरेका थिए। तिनै कलाकृतिमध्येको एक रहेछ, यो विश्वकै सबैभन्दा ठूलो चैत्य– श्वेत चैत्य। नेपाली कलाकारले बनाएको भनेर अरू मुलुकका साथै चिनियाँ नागरिकलाई समेत बीस युआन (नेपाली तीन सय रुपैयाँ) टिकट लिने गरिएकामा नेपाली नागरिकलाई पासपोर्ट देखाएपछि निःशुल्क प्रवेश दिइएको रहेछ। यो अरनिको नेपाली भएकोमा नेपालीले पाएको आतिथ्य सम्मान त हो नि! 

अरनिको समाजले चैत्य अगाडि दौरा, सुरुवाल र नेपाली टोपीमा सजिएका अरनिकोको मूर्ति स्थापना गरिदिएको रहेछ, जसले प्रत्येक पर्यटकलाई नेपाली पहिचान दिइरहेको छ। 

सन् १२७९ मा अरनिकोले यो श्वेत चैत्य अर्थात् ह्वाइट प्यागोडा बनाएका रहेछन्। यसलाई चिनियाँहरू पाइथा स भन्दारहेछन्। चीनमा युआन वंशको पालामा निर्माण गरिएको यो चैत्यलाई मिङ वंशले पुनर्निर्माण गराएको र यसको नामकरण मिआवोयिङ राखिएको रहेछ। मिआवोयिङको अर्थ अदभूत फल प्राप्त गर्ने हुने हुनाले चिनियाँहरू केही वर माग्नुपरेमा तीर्थस्थलको रूपमा श्वेत चैत्यमा आउने रहेछन्। चैत्य अगाडि दुईवटा मन्दिर रहेछन्, जहाँ विभिन्न मुद्रामा शाक्यमुनि बुद्ध बसेका छन्। 

नेपाली कलाकार बाहुबलीलाई चीनमा बोलाएर कला प्रस्तुत गर्न लगाएकाले आजसम्म हामीले त्यसको सम्मान पाइरहेका छौँ। यसलाई हामीले चिनियाँहरूको उदार हृदय मान्नै पर्ने हुन्छ। 

चिनियाँहरूले नेपालीहरूलाई कति माया गर्ने रहेछन् भन्ने कुरा राष्ट्रिय संग्रहालयमा राखिएका नेपाली उपहारहरू र रेडियो चाइनामा पनि सजाएर राखिएका नेपाली उपहारहरू हेर्दा प्रष्ट हुन्छ। यस्ता चिनियाँहरूको अगाडि पुगेर बुद्ध नेपालमा जन्मिएका हुन् भनेर सूचना स्रोतमा सच्याउन र मैत्रेय बुद्धको काष्ठमूर्ति नेपालबाट ल्याइएको हो भनाउन हाम्रा अगुवा नेताहरू र कूटनीतिज्ञहरू किन सक्दैनन्? कूटनीतिक यात्रामा पुगेका नेपालीले विशाल चीन घुमेर मात्र फर्किनुभन्दा यस्ता विषयहरूमा पनि ध्यान दिँदा मुलुकका लागि राम्रो हुन्थ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.