|

लमजुङ :  लमजुङको प्रतिनिधि र प्रदेशसभा चुनावको मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। २१ गते साँझ ५ बजेदेखि मतगणना सुरु गर्ने तयारीसहित मतगणना स्थल सुरक्षाका लागि फलामे बारको व्यवस्था गरिएको छ।

जिल्लाका विभिन्न मतदान केन्द्रबाट ल्याएर सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शिलबन्दी गरी सुरक्षित राखिएको मतगणना गर्ने स्थल सुरक्षित बनाउन फलामे बारको व्यवस्था गरिएको हो।

जिल्ला समन्वय समितिको सभाहलमा मत गणना गर्ने तय भएसँगै हलको नापजाँच गरी दुईतिहाई बढी भागमा मतगणना गर्नेगरी बार लगाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विभिन्न ठाउँमा फलामे टेको दिएर झण्डै सात फिट अग्लो फलामे बार उभ्याइएको छ।

बारभित्र तीनदेखि चार ठाउँमा एकैपटक मतगणना गर्न सकिने र त्यस बाहिर दलका प्रतिनिधि, उम्मेदवार वा तिनका प्रतिनिधि र अन्य सरोकारवालाहरु बस्ने व्यवस्था गरिने भएको हो।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, श्रीजंग गणका प्रमुख सेनानी माधव थापा, प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्ट, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल लगायतको परामर्शमा मतगणनास्थल सुरक्षित बनाइएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए।

जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाका १ सय ६५ मतदान केन्द्रहरुका कूल ४ सय ९५ थान मतपेटिका व्यवस्थापन गरिएको छ। दलका प्रतिनिधिसहित नेपाल प्रहरी र म्यादी प्रहरीले मतपेटिका सुरक्षित गरिएको स्थललाई सुरक्षा दिएका छन्। जिल्लामा कुल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेकोमा कुल ७७ हजार ३ सय २० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

समाचार संकलनका लागि मिडिया सेन्टर स्थापना

चुनावको मतगणना समाचार संकलनका लागि लमजुङमा मिडिया सेन्टर कक्ष स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समिति लमजुङ, जिल्ला निर्वाचन कार्यालय लमजुङको सहयोग एवम् नेपाल पत्रकार महासंघ लमजुङ शाखाको समन्वयमा लमजुङमा मिडिया सेन्टर कक्ष स्थापना गरिएको हो। जिल्ला समन्वय समितिको बैठक कक्षलाई मिडिया सेन्टरको रुपमा स्थापना गरिएको हो।

कक्षमा बसेर पत्रकारले अडियो, भिडियो र समाचार आफ्नै ल्यापटपबाट पठाउन र लाइभ गर्न सक्नेछन्। एकपटकमा १५ जना पत्रकारले आफ्नो सामग्रीसहित समाचार संप्रेषण गर्न सक्नेछन्। पत्रकारलाई आलोपालो गर्ने गरी पासको व्यवस्था मिलाइएको छ।

मिडिया सेन्टरको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले मतगणनाको सत्यतथ्य सुचना नागरिकतहसम्म छिटाछरितो रुपमा संप्रेषण गर्न सहज होस् भनी मिडिया सेन्टर स्थापना गरिएको बताए। ‘सूचना पाउनु नागरिकको अधिकार हो, सत्यतथ्य सुचना जाने पत्रकारबाटै हो, त्यसैले नागरिकतहसम्म मतगणनाको समाचार संप्रेषण गर्नका लागि मिडिया सेन्टर स्थापना गरिएको हो,’ उनले भने।

सहायक निर्वाचन अधिकृत एवम् स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले लमजुङको मतगणनाको वास्ततविक नतिजा सत्यतथ्य रुपमा देशविदेशमा छिटोछरितो रुपमा संप्रेषण गर्न मिडिया सेन्टर स्थापना गरएको उल्लेख गरे।

उनका अनुसार जिल्लामा सबैभन्दा पहिले प्रतिनिधिसभाको मतगणना गरिने छ। मतगणनाका लागि तीन समूह परिचालन हुनेछन्। प्रतिनिधिसभातर्फको मतगणना सकिएसंगै प्रदेशसभातर्फको मतगणना गरिनेछ। प्रदेशसभातर्फको मतगणना दुई दुई समूहमा गरिनेछ। जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.