निवेदन फेला नपर्दा राहतको निर्णय अल्झियो

|

  • दीपेन्द्र शर्मा-

जाजरकोटः जाजरकोटको कुशे गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै केही दिन अगाडि स्थानीयद्वारा कब्जामा लिएका सामानहरू फिर्ता नहुँदा स्थानीय सेवाग्राहीहरू मर्कामा परेका छन्। 

दैनिकजसो हुने कामहरू समयमा हुन नसक्दा स्थानीयवासीहरू कर्मचारी खोज्न हैरान हुने गरेका छन्। कब्जा गरिएका सामानहरू फिर्ता नहुँदा गाँउपालिका कार्यालयबाट प्रवाह हुने कामहरू प्रभावित भएका छन्। 

स्थानीयले कुशे गाउँपालिकाको ११ लाख ७७ हजार बराबरको सामग्री लुटेर लगेको गाउँपालिकाले जनाएको छ। स्थानीयले नियन्त्रणमा लिएका कुर्सी, टेबुल, दराज, कम्प्युटर, प्रिन्टरलगायतका सामानहरू फिर्ता नहुँदा कार्यालयको कामकाजमा समस्या भएको कुशे गाउँपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए। ‘कार्यालयमा भएका सबै सामान स्थानीयले नियन्त्रणमा लिएका छन्, कार्यालय भएको घर उजाड भएको छ’, उनले भने, ‘सामान केही छैन, स्थानीयवासीलाई विना सामानको कसरी सेवा दिने?’

कार्यालयबाट हुने काम लिएर सेवाग्राहीहरू गाउँपालिकाको कार्यालय भएको स्थानमा आएर रित्तै घर जाने गरेको पनि उनले बताए। कतिपय कामहरू वडास्तरवाटै हुने भएकाले उतैबाट समस्या हल गर्ने गरेको भण्डारीले बताए।

बाटुलेमा गाउँपालिकाको कार्यालयका कुनै सामानहरू नहुँदा एक जना कर्मचारी राखेर सामान्य कामकाजका लागि सम्पर्क स्थानका रूपमा व्यवस्था गरिएको भण्डारीको भनाइ थियो। गाउँपालिका कार्यालयका सामानहरू फिर्ता नहुँदा गाउँपालिकाका धेरै कामहरू प्रभावित भएको भण्डारीले जानकारी दिए। ‘विभिन्न योजनाको सर्वेलगायतका काम गर्न अप्ठेरो भएको छ। सम्बन्धित आयोजनाको फिल्डमा  गएर कर्मचारीलाई काम गर्न समस्या छ’, उनले भने, ‘दैनिक प्रशासन संचालनका लागि कार्यालय छैन। काम गर्न निकै समस्या भएको छ।’ 

भण्डारीका अनुसार प्रत्येक महिनाको १५ गतेपछि करारका कर्मचारीको तलब भत्ता दिने गरिन्थ्यो, अहिले समस्या हुँदा ढिला भएको छ। सामान कब्जा गर्ने स्थानीय वासिन्दासँग पहिलो चरणमा सामान फिर्ता गर्ने विषयमा पहल भइरहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। ‘सामान फिर्ताका लागि पहल भइरहेको छ। प्राविधिक कारणले ढिलाइ भएको हो’, उनले भने, ‘केही व्यक्तिको उक्साहटमा लागेर स्थानीयले गाउँपालिकाका सामानहरू लिएका हुन, छिट्टै फिर्ता गराउँछौँ’, उनले भने। यदि नमानेमा कानुनी उपचारको पहल गर्ने उनले बताए। 

दुई तिहाईभन्दा बढीले गरेको निर्णयलाई सबैले मान्नुपर्ने बस्नेतको भनाइ छ। उनले भने, ‘तरिका विलकुल ठीक भएन। निर्णय कात्तिक ३० गते हुन्छ। सामानहरू मंसिर १४ गते राती नियन्त्रणमा लिन्छन्।’ यसले गर्दा केही व्यक्तिको मनोगत इच्छाले मध्यरातमा सामान लुटिएको देखिएको अध्यक्ष बस्नेतले बताए। अब कुनै हालतमा बहुमतको कदर गर्नुबाहेक अरू हुन नसक्ने भन्दै यस्तो तरिकाले जनता झुक्याउने काम भएको उनले आरोप लगाए। 

गाउँपालिकाको कार्यालयमा विभिन्न राहतका निवेदन थिए। सबै स्थानीयले लिएका छन्। यसले गर्दा तत्काल दिनुपर्ने राहत निवेदन नहुँदा निर्णय गरेर राहत दिन नसकिएको उनको भनाइ छ। ‘प्रायः दैवी प्रकोपका निवेदन रहेकाले तत्काल निर्णय गर्न सकिएको छैन’, उनले भने। 

कात्तिक ३० गते बसेको गाउँसभाको बैठकले गाउँपालिकाको केन्द्र वडा नम्बर– ६ को भार्म थर्पु सार्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति कुशे गाउँपालिकाको वडा नम्बर– ५ का वासिन्दाले विरोध जनाएका थिए। उनीहरूले ढिमेको मालुमेलामा केन्द्र राख्नुपर्ने माग गरेका थिए तर गाउँसभाका ४७ सदस्यमध्ये ४२ जनाले भार्म थर्पुमा गाउँपालिकाको केन्द्र राख्ने निर्णयमा सहमति जनाएका थिए। 

असन्तुष्ट ५ नम्बर वडाका वासिन्दाले गत १४ गते  मध्यरातमा गाउँपालिकाका सामान कब्जामा लिएका हुन। राती ११ बजे वडा नम्बर– ६ स्थित बाटुलेमा रहेको गाउँपालिका कार्यालयमा पुगेका ३०–३५ जना स्थानीयको समूहले सामान नियन्त्रणमा लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.