|

लहान : दोस्रो चरण अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानका लागि सिरहामा सम्पूर्ण तयारी पूरा भएको छ। जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत टीकाप्रसाद नेपालका अनुसार जिल्लाका दुई सय २१ मतदानस्थल र चार सय ३६ मतदान केन्द्रमा मतदान, सुरक्षासहित सबै तयारी पूरा भएको जानकारी दिए।

सहायक निर्वाचन अधिकृत नेपालले सबै स्थानीय तहका मतदानस्थल र केन्द्रमा जिम्मेबारी दिइएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी तथा सहयोगीहरुले बिहीबार बिहानदेखि हुने मतदानको सम्पूर्ण तयारी पूरा गरेको बताए। सिरहामा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे ५ तथ्य थाहा पाउनुस्।

१. दुई केन्द्रमा महिला कर्मचारी मात्र 

सिरहाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत सिरहा नगरपालिका १ को क र ख मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबैजना महिला कर्मचारी खटाइएका छन्। सहायक मतदान अधिकृत नेपालका अनुसार सदरमुकाम भएकाले नमूनाका लागि महिला कर्मचारी मात्र खटाएर निर्वाचन गर्न लागिएको हो। दुवै मतदान केन्द्रमा गरी आठ सय ७३ पुरुष र सात सय ३३ महिला गरी एक हजार छ सय छ मतदाता रहेका छन्।

२. एक सय ८० जना चुनावी मैदानमा

जिल्लाभर कायम गरिएका चार प्रतिनिधिसभा र आठ प्रदेश सभा सदस्यका लागि बिहीबार हुने निर्वाचनमा सिरहामा एक सय ८० जना उम्मेदवार चुनावी मैदानमा छन् जसमध्ये १२ जना मात्र निर्वाचित हुने छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार चार प्रतिनिधिसभाका लागि तीन महिलासहित ६० र आठ प्रदेशसभाका लागि आठ महिलासहित एक सय २० जना उम्मेदवार छन्।

३. करिब साढे तीन लाख मतदाता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार हुने मतदानका लागि जिल्लाका १७ स्थानीय तहमा कायम गरिएका चार सय ३६ मतदान केन्द्रमा तीन लाख ४४ हजार तीन सय ७१ मतदाता छन्। सिरहाको सुखीपुर ७ र धनगढीमाई नगरपालिका ९ मा गरी दुई तेस्रो लिङ्गी, एक लाख ८४ हजार एक सय दुई पुरुष र एक लाख ६० हजार दुई सय ६७ महिला मतदाता रहेका छन्। जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सन्दर्भमा सुरक्षासहित आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुसँग आग्रह गरेको छ।   

४. सुरक्षा व्यवस्था कडा

दोस्रो चरण अन्तर्गत हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। मौन अवधि शुरु हुनु अगावै उम्मेदवारलाई लक्षित गरी गोली प्रहार र बम विस्फोटका घटना भएपछि जिल्लमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार जिल्लाको संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा दुई हजार तीन सय ५० म्यादीसहित दुई हजार दुई सय ५० नेपाल प्रहरी परिचालन गरिएको छ। त्यससँगै प्रहरी निरीक्षकको कमाण्डमा जिल्लामा २० जना प्रहरी रहने गरी रिजर्भ फोर्ससँगै हरेक गाउँ र नगरपालिकामा दुई/दुईवटाको दरले  ३४ वटा मोवाइल टोली परिचालन गरिएको छ।

५. दुई क्षेत्र संवेदनशील, दुई अति संवेदनशील

त्यसैगरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाले जिल्लाको १ र ३ नं. क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा राखेर पाँच/पाँच वटा स्ट्राइकिङ फोर्स, आठ/आठ वटा मोवाइल टोली र क्षेत्रभरी हेर्नेगरी डीएसपीको कमाण्डमा २० जनाको रिजर्भ टोली खटाएको जनाएको छ।

क्षेत्र नं. २ र ४ लाई अति संवेदनशील क्षेत्रको रुपमा राख्दै १०/१० वटा मोवाइल टोली र पाँच/पाँच वटा स्ट्राइकिङ फोर्स परिचालन गरिएको छ। त्यस्तै, जिल्लाको समग्र निर्वाचन सुरक्षालाई कभर गर्नेगरी नेपाली सेनाले भने जिल्लाको १३ स्थानमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी सुरक्षाको प्रबन्ध मिलाएको नेपाली सेनाको चोहर्वा गणले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.