|

  • मिलन विश्वकर्मा

पाल्पा : स्थानीय प्रशासनले दिने विशेष पास नपाएकाहरु निर्वाचनका दिन कुनै पनि सवारी साधनमा यात्रा गर्न पाउदैनन्। अझै धेरै यात्रु त पास प्राप्त गरेका सवारी साधनले पनि बोक्न पाउँदैनन्। पाल्पाको रिब्दीकोट- ७ पालुङमैनादीमा धेरै यात्रुसहित छतमा दाउरा बोकेको एउटा जिप आयो।

नेता र सुरक्षाकर्मीहरुसमेत जिप किन आयो भन्दै चेकजाँच गर्न तम्सिएका थिए। त्यसपछि थाहा भयो, त्यसमा अन्तिम संकार गर्न लगिँदैगरेको शवसहित मलामीहरु आएका रहेछन्। रिब्दीकोट- ७ पालुङ्गमैनादीको मैनादी निवासी लिलाकुमारी गैरेको शवसहित छोरा र मलामी मत खसाल्न मतदान केन्द्रमा आएका हुन्। १०१ वर्षीया गैरेको गएराति निधन भएको थियो।

'आमाको आकस्मिक निधन भयो,' छोरा युद्धराज गैरेले भने, 'आमाको पनि मत खसाल्ने चाहना थियो, त्यो पूरा हुन सकेन त्यो इच्छा पूरा गर्न आमाको लास नै लिएर आएको हौँ।' शव दाहसंस्कारका लागि रिब्दीघाट पुग्नु पर्ने हुन्छ। दाहसंकार गरेर फर्किँदा मतदानको समय नै सकिने भएकाले शवसहित मतदानका लागि आएको उनको भनाइ छ। उनले यस्तो अवस्थामा दिएको मत सदुपयोग होस् भन्ने कामना गरे।

छिमेकी तथा शव बोकेर आएका मलामी विष्णु काफ्लेले महत्वपूर्ण निर्वाचनको मत खसाल्ने दिन यस्तो दु:खद् घटना घटेको बताए। 'आमाको मृत्युअघिको चाहना र छोराहरुको पनि मत खसाल्ने इच्छाले हामी पनि लाश बोकेर नै आएका हौँ,' उनले भने।

मलामीहरु कालिका मावि मुझुङ्गमा मतदान गरेर रिडीघाटतर्फ लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.