|
झडपमा स्थानीयको कुटाइबाट घाइते भएका मिक्कल तामाङ र उनलाई नियन्त्रणमा लिँदै प्रहरी। तस्विर सौजन्य : स्थानीय दीपेन्द्र ढकाल

भक्तपुर : नेकपा एमाले समर्थक युवाहरुले बालकोटको रोजभिलेज कोलनीनजिक सर्वसाधारणको घरमा तोडफोड गरेपछि स्थानीय सर्वसाधारण र एमालेसमर्थक युवाहरुको झडप हुँदा एकै परिवारका ३ जनासहित ४ जना घाइते भएका छन् भने तोडफोडमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित गणेश प्रावि मतदानस्थलमा हुलदंगा गर्ने उद्देश्यले त्यहाँ पुगेका एमाले समर्थक युवाहरुको समूहले मतदान स्थलबाट फर्कने क्रममा एक्कासी सर्वसाधारणको घरमा तोडफोड गरेपछि स्थानीयले प्रतिकार गर्ने क्रममा झडप भएको हो।

युवाहरुले स्थानीयको घरमा ढुंगा प्रहार गरी भाइराजा कार्की, विष्णुराज कार्की, शक्ति के सी, विजयराम कार्की, शिवराम कार्की, मानबहादुर कार्की लगायतका १६ वटा घरको सिसा तोडफोड गरेका छन। तोडफोडका क्रममा एकै परिवारका ७३ वर्षिय मैयाँ कार्की, ३८ वर्षिय भाइराजा कार्की, १८ वर्षिय प्रमोद कार्की घाईते भएका छन्।

घाईतेको मध्यपुर अस्पतालमा उपचार भईरहेको छ। घाईते मध्ये भाइराजाको अवस्था गम्भिर भएकाले आइसीयुमा उपचार भईरहेको नेपाली कांग्रेसका नेतासमेत रहेका विष्णुराज कार्कीले जानकारी दिए। प्रमोद र मैयाँको अवस्था सामान्य रहेको कार्कीले बताए।

त्यसैगरी, स्थानीयले प्रतिकार गर्ने क्रममा तोडफोडमा संलग्न २१ वर्षिय मिक्कल तामाङ घाइते भएको प्रहरीले जनाएको छ। सो घाईतेसहित प्रहरीले तिन जनालाई नियन्त्रणमा लिए पनि उनीहरुको परिचय खुलाएको छैन। झडप भएको स्थान गणेश प्रावि मतदानस्थलको करिब २ सय मिटर पश्चिममा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.