मतदान स्थगित

|

अर्घाखाँची : अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ५ को मथुरा मावि मतदान केन्द्र ख मा नेपाली कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतदान स्थगित भएको छ। मतदान अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र दिएपछि कांग्रेस कार्यकर्ताहरुले मतपेटिका फाल्ने, मतपत्र च्यात्ने र जलाउने गरेपछि बिहीबार दिउँसो २ बजेपछि मतदान स्थगित गरिएको हो।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरेको मतपत्र दिएपछि कांग्रेस कार्यकर्ताहरुले आक्रोशित भएर मतपत्र च्यातेका थिए। उनीहरुले मतपेटिका फालेर मतदानस्थलमा पन तोडफोड गरेका छन्। कांग्रेसको युवा संगठन तरुण दलका नेता कृष्ण भुसालले निर्वाचन अधिकृतले नियतवश हस्ताक्षर नभएको मतपत्र दिएपछि तोडफोड गरेको बताए। कांग्रेसलाई हराउन मतपत्रमा हस्ताक्षर नै नगरी दिएको उनको आरोप छ। उक्त मतदान केन्द्रमा करिब २५ वटा मतपत्र मतदान अधिकृतले हस्ताक्षर नै नगरी मतपत्रमा खसालिएका छन्।

मतदान अधिकृत अधिकारीले हस्ताक्षर गरेको मतपत्र र नगरेको मतपत्र छुट्टाछुट्टै राखिएकोमा झुक्किएर हस्ताक्षर नगरेको मतपत्र वितरण भएको बताए। उक्त मतदान केन्द्रमा स्थगित भएको मतदान सञ्चालन गर्ने विषयमा सर्वपक्षीय बैठक बसेको छ। मतदान पुन सुचारु गराउने वा स्थगित गर्ने भन्नेबारे निर्णय भएको छैन। करिब ८ सय मत खसिसकेपछि कांग्रेस कार्यकर्ताहरुले मतपत्र च्यातेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.