|

कावासोती : पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिकास्थित त्रिमुर्ती आधारभूत तिलौली केन्द्र ’ख’ मा पुनः मतदान भएको छ। कर्मचारीको असावधानीका कारण प्रदेशसभा सदस्यको मत पत्र प्रतिनिधिसभाको मतपेटिकामा खसालेको थाहा पाएपछि पुनः मतदान भएको हो।

मतदाताहरूलाई त्यहाँ खटिएका कर्मचारीले प्रदेशसभाको मत पत्र दिएर प्रतिनिधिसभाको बाकसमा खसाल्न लगाएपछि केही समय मतदान प्रक्रिया अवरुद्ध भएको थियो। एउटाको मत पत्र अर्कै बाकसमा खसालेपछि राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिमा पुनः मतदान गरिएको मतदान अधिकृत वीरेन्द्रकुमार तिमिल्सेनाले बताए।

१८ जनाले मतदान गरेपछि उक्त त्रुटी भएको थाहा भएको थियो। राजनीतिक दलको सहमतिमा मतदान गर्ने मतदाताहरूको पहिचान गरी पुनः मतदान गर्न लगाइएको थियो।

त्रुटी भएर खसालिएका सबै मतपत्रलाई मुचुल्का बनाएर छुट्टै सिल गरेर राखिएको तिमिल्सेनाले बताए। पूर्व र पश्चिम जिल्लामा विभाजन नवलपरासीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया अघि बढेको पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.