|

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन्। राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने र त्यसले एकाध वर्षमा आर्थिक उन्नतीको मार्ग प्रशस्त गर्ने उनीहरुको भनाई छ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले आफूले समृद्धिको पक्षमा मतदान गरेको प्रतिक्रिया दिए। मुरारकाले काठमाडौं को थापाथलीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। 'राजनीतिक एजेण्डा सकिएको छ, अबको मुख्य कार्यसूची आर्थिक समृद्धि हो, मलाई विश्वास छ राजनीतिक दल आर्थिक समृद्धिको यात्रामा लामवद्ध हुनेछन्, मैले आर्थिक समृद्धिका लागि मतदान गरे।' उनले भने।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले काठमाडौं क्षेत्र नं– ५ स्थित बाँसबारी मतदान केन्द्रबाट मतदान गरे। उनले देश औद्योगिकरुपमा समृद्ध हुनुपर्ने बताउँदै आफूले समृद्धशाली मुलुकका असल नागरिक हुने रहर पूरा हुने अपेक्षासहित मतदान गरको टिप्पणी गरे। गत वर्षदेखि मुलुकमा विद्युत्भार कटौतीको अन्त्य भएको छ। त्यसले औद्योगिक वातावरण तयार पारेको छ। आर्थिक वर्ष २०७३/७४ मा ६.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन सक्यो। चालु आवमा ७.२ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएको छ। देशभर नै उद्योगी व्यवसायीमा थप उत्साह थपिएको छ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम सुरु गरिसकेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक संघर्षको अध्याय सकिने र मुलुक आर्थिक समृद्धिको युगमा प्रवेश गर्ने कम्प्युटर एसोसियसन महासंघ नेपालका अध्यक्ष विनोद ढकाल बताए। उनले भने 'राजनीतिक स्थिरताका लागि आज मैले मतदान गरे, देशले आर्थिक निकास पाओस्। मुलुक समृद्ध बनोस्।' उननले भने। ढकालले कालीमाटीस्थित जनप्रभात मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले आफ्नो मताधिकार जनजागृति मावि गोल्फुटारबाट प्रयोग गरे। उनले राजनीतिक स्थायित्वका लागि नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेकाले यस पटक उक्त सपना पूरा हुने धारणा राखे।

निर्वाचनलाई भयरहित, मर्यादित र शान्तिपूर्ण बनाउन उद्योग वाणिज्य महासंघले अनुगमन समूह नै बनाएको थियो।  यस्तै उद्योगी तथा व्यवसायीले पनि निर्वाचनको पर्यवेक्षण समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.