|

लहान : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सप्तरी  जिल्लाका अन्य मतदान केन्द्रमा उत्साहजनक रुपले मतदान भए पनि सप्तरीको एक मतदान केन्द्रमा भने एक जनाले पनि मतदान गरेनन्।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका २ अकवरपुरस्थित आधारभूत विद्यालयमा कायम गरिएको मतदान केन्द्रमा एक जनाले पनि मतदान नगरेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत ढुङ्गानाका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनको मतदानका लागि बुथ निर्माण गरी बसे पनि एक जना पनि मत खसाल्न नआएपछि सोही अनुसारको मुचुल्का उठाएर साँझ ५ बजेपछि निर्वाचनमा खटिएका कर्मचारीहरु जिल्ला सदरमुकाम राजविराज फर्किएका छन्।

‘मतदानका लागि कर्मचारीहरु बसेकै हुन्, कसैले बिथोलेको र झडप पनि भएको होइन, त्यसैले उक्त केन्द्रमा पुनः मतदान हुँदैन’ उनले भने। निर्वाचनमा उक्त केन्द्रका नौ सय ६० मध्ये एक जना मतदाताले पनि मतदान नगर्नुमा स्वतन्त्र मधेस गठबन्धनका अगुवा सिके राउतको प्रभाव रहेको अनुमान गरिएको छ।  उक्त गाउँ राउको जन्मस्थल हो।

राजपाले जितेको वडा

पछिल्लो स्थानीय तहको निर्वाचमा उक्त वडामा राष्ट्रिय जनता पार्टी नेपालले जितेको वडा हो। सिङ्गो वडालाई एउटै मतदान केन्द्र मानेर बिहीबार मतदान गर्ने तयारी गरिएको भए पनि राजपाले वडाध्यक्षदेखि खुला, महिला र दलित महिला सदस्य जितेको वडामा एक जनाले पनि मतदान नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सिके राउतको जन्मस्थल भए पनि शान्तिपूर्ण राजनीतिमा रहेको राजपाले जितेको वडामा एक जनाले पनि मतदान नगर्नु गम्भीर विषय रहेको सप्तरीमा चर्चा चलेको छ।  

जिल्लाभर ६० प्रतिशत मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबारको मतदानका लागि दुई सय ९५ मतदानस्थल र चार सय ७८ मतदान केन्द्र कायम गरिएका थिए। जिल्लाभर तीन लाख ४६ हजार दुई सय १४ मतदात रहेको सप्तरीमा बिहीबार साँझ ५ बजेसम्म करिब ६० प्रतिशत मतदान भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.