|

रुपन्देही : प्रतिनिधिसिभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देही जिल्लामा ७० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ७०.७७ प्रतिशत मत खसेको जानकारी दिए। दिउँसो रुपन्देहीको ओमसतिया गाउपालिका वडा नं. ६ मझौली चोक र छोटकी रामनगरमा सुतली बम भेटिए पनि जिल्लामा समग्र रुपमा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए।

रुपन्देहीमा प्रतिनिधिसभाका लागि ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन्। जिल्लामा ५ लाख २२ हजार ६ सय २ जना मतदाता छन् भने २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताले उत्साहजनक सहभागिता जनाएका छन्। स्थानीय तहमा रुपन्देहीमा ७५ प्रतिशत मत खसेको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जिल्लामा शान्तिपूर्वक मतदान भएको बताए। 
चार दिनमै नतिजा सार्वजनिक गर्ने तयारी

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले ४ दिन भित्रमै मतगणना सम्पन्न गर्ने गरी ब्यबस्था गरिएको जनाएको छ। पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को भैरहवा बहुमुखी क्याम्पसमा र क्षेत्र नम्बर ४ र ५ को शैक्षिक तालिक केन्द्र बसडिलवामा मतगणना हुने बताइएको छ। 

त्यसैगरी प्रतिनिधि सभा र प्रदेश सभाको अलग–अलग मतगणना हुने र छिटो छरितो गरी कम्तिमा पनि ४ दिनभित्र नतिजा सार्वजनिक गर्ने गरी मतगणना कार्य सुरु हुने प्रमुख निर्वाचन अधिकृत भण्डारीको भनाई छ। मतगणना कार्य स्थानीय निर्वाचनको जस्तो झन्झटिलो नहुने र प्रतिनिघिसभा तथा प्रदेशसभाको अलग–अलग गनिने भएकाले ४ दिनभित्रै नतिजा सार्वजनिक गर्न सकिने भण्डारीले बताए।

मतदान सम्पन्न भइसकेपछि छिटोभन्दा छिटो सदरमुकाम भैरहवामा मतपेटिका जम्मा गरिने र सबै मतपेटिकाहरु जम्मा गरेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.