|

रुपन्देही : रुपन्देहीमा बिहान ९ बजेदेखि मतगणना सुरु हुँदै छ। २ सय ८ मतदान स्थलका मतपेटिका संकलन गर्दा रातको १ बजेपछि सर्वदलीय बैठक बसेर आज बिहान ९ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीका अनुसार रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रको मतगणना ९ बजेदेखि सुरु हुनेछ। प्रतिनिधिसभा सदस्यका लागि ५ वटा र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २ स्थानमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए।

निर्वाचन क्षेत्र नं. १, २ र ३ को मतगणना भैरहवा बहुमुखी क्याम्पस, भैरहवामा गरिनेछ। ४ र ५ को शैक्षिक तालिम केन्द्र बसडिलहवामा मतगणना गर्ने तयारी छ। 

प्रतिनिधि सभा तर्फका मतपेटिका २ वटा समूहले गणना गर्नेछन् भने प्रदेश सभाको पनि २ वटा समूहले गणना गर्नेछन्। मतगणनास्थलमा सिसिटीभी क्यामेरा राखिएको छ, तर तारजाली लगाइएको छैन।

मतगणनाको नतिजा शुरुमा ५ सयसम्म र पछि १ हजार मत गनिसकेपछि सार्वजनिक गर्ने तयारी भएको प्रमुख निर्वाचन अधिकृत भण्डारीले बताए। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले चार दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने बताएको छ। ५ लाख २२ हजार ६ सय २ मतदाता रहेको रुपन्देहीमा ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.