|

रुकुम : रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यमा माओवादी उम्मेदवार कमला रोका विजयी भएसँगै उनी माओवादी जनयुद्धकालको पहिलो महिला छापामारदेखि कान्छो जिल्लाको पहिलो प्रतिनिधिसभा सदस्यसमेत बनेकी छन्।

रोकाले नेपाली काग्रेसका प्रतिस्पर्धी उम्मेदवार हरिशंकर घर्तीलाई ६ हजार बढी मत अन्तरले पराजित गरेकी हुन्। रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीको पक्षमा ४ हजार ४ सय ६ मत आएको छ।

उनी रुकुम पूर्वकी एकमात्र महिला उम्मेदवार भएर ५ जना पुरुष उम्मेदवारसँग प्रतिस्‍पर्धा गरेकी थिइन्। पूर्व रुकुम खसेको १८ हजार १ सय १४ मतमध्ये १६ हजार ९ सय २४ मत मात्रै सदर भएको थियो।

२०३२ सालमा सिस्ने गाउँपालिका–२, मा जन्मेकी रोका माओवादीले सशस्त्र घोषणा गरेकै दिन आक्रमण भएको रुकुम आठविसकोट प्रहरी चौकी आक्रमणकी एउटी सदस्य थिईन। २०५३ माओवादीको रुकुम जिल्लाको पहिलो महिला सदस्य भएकी रोका  २०५४ को असार महिनामा उनी केही समय दाङको जेलमा पनि बसेकी थिइन्।

२०५५ मा महिला संगठनको जिल्ला अध्यक्ष हुँदै त्यसपछि जिल्ला बाहिर पनि विभिन्न पार्टीको जिम्मेवारीमा रहेर काम गरेकी थिइन्। २०६० मा माओवादीको केन्द्रीय सदस्य भएकी उनी २०६२ को चुनवाङ बैठकपछि माओवादी जनसेनाको पाँचौँ डिभिजनको दीर्घस्मृति विग्रेडमा कमिसार बनेर गण्डक अभियानमा खटेकी थिइन्।

२०६३ मा अन्तरिम विधायक र २०६४ को संविधानसभा निर्वाचनबाट समानुपातिक सूचीमार्फत सभासद् भएकी उनी युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेकी छन्। उनी हाल माओवादी केन्द्रको सचिवालय सदस्य तथा महिला विभाग इन्चार्ज छन्।

प्रत्यक्षतर्फ उनी पहिलो पटक निर्वाचन लडेर विजयी बनेकी हुन्। उनी माओवादी नेता गणेशमान पुनकी श्रीमती हुन्। अघिल्लो चुनावमा गणेशमानले प्रत्यक्षको टिकट पाएर जित हासिल गरे पनि यसपटक श्रीमानले नपाएर श्रीमतीले टिकट पाएकी हुन्।

विजयपश्चात् छोटो प्रतिक्रिया दिँदै उनले चुनाव अभियानका क्रममा जनताले गरेको माग र आवश्यकता अनुसारको अवस्था हेरेर आपूmले प्रतिबद्धता जनाए अनुसारका विकास योजना पूरा गर्ने बताइन्। ‘मैले वाम गठबन्धनको तर्फबाट घोषणा पत्रमा लेखे अनुसारका प्रतिबद्धता क्रमशः कार्यान्वयनमा लैजाने र जिल्लाको विकास र समृद्धिलाई तीव्रता दिन्छु’ उनले भनिन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.