|

काठमाडौं : गोरखाको दुई निर्वाचन क्षेत्रमध्ये एउटामा लोकतान्त्रिक र एउटामा वाम गठबन्धन अगाडि देखिएको छ। शुक्रबार दिउँसोसम्म प्राप्त मत विवरण अनुसार गोरखा क्षेत्र नम्बर १ मा वाम गठबन्धन र गोरखा क्षेत्र नम्बर २ मा कांग्रेस र नयाँ शक्ति नेपालको गठबन्धन अगाडि देखिएको हो।

क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ११ हजार ३ सय ३९ मत ल्याएका छन्। त्यस्तै वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत पाएका छन्। यो मत परिणाम २२ हजार ५ सय ६८ मत गणना हुँदासम्मको हो।

गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा क मा ११ हजार ७९४ मत गणना हुँदा नयाँ शक्ति पार्टीका हरिशरण आचार्य ५६ सय ३ मतसहित अग्रस्थानमा छन् भने नेकपा माओवादी केन्द्रकी कमला नहर्कीले ५५५६ मत पाएकी छन्।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ख मा १२ हजार ६ सय ३१ मत गणना हुँदा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ६ हजार ६५२ मत ल्याएका छन्। त्यस्तै नेकपा माओवादी केन्द्रका अम्बरबहादुर गुरुङले ५ हजार २३२ मत पाएका छन्।

गोरखा क्षेत्र नम्बर १ मा १३ हजार ६३९ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका हरिराज अधिकारी ६ हजार ३ सय ५८ सहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले ५४०६ मत ल्याएका छन्। गोरखा क्षेत्र नम्बर १ को प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका लेखबहादुर थापाले ५ हजार ७ सय २५ मत पाएका छन् भने नेपाली कांग्रेसका धिरन थापाले ४ हजार ४ सय ७२ मत पाएका छन्।

क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा १० हजार २९ मत गणना हुँदा नेकपा एमालेका रामशरण बस्नेतले ५ हजार ७ सय १३ र नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले ३ हजार ७ सय ८७ मत पाएका छन्। गोरखामा नयाँ शक्ति पार्टीले नेपाली कांग्रेससँग गठबन्धन गरेको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.