|

  • रमेश तिमल्सिना-

रौतहटः रौतहटका चारवटै क्षेत्रमा मत गणना सुरु भएको छ। क्षेत्र नं.– १ को परिणामअनुसार राजपाका प्रतिनिधिसभा उम्मेदवार अनिल झाले दुई हजार ९११ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णा यादवले दुई हजार ८९९ मत ल्याएकी छन्। १२ मतले राजपा उमेदवार झा अगाडि छन्। 

यस्तै, वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सत्यनारायण भगत बिनले एक हजार ३१४ मत मात्र पाएका छन्। 

यस्तै, प्रदेशसभा ‘क’मा राजपाकै बाबुलाल साह अग्रस्थानमा छन्। उनले ८२६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र साहले ८१० मत ल्याएका छन्। 

यसैगरी क्षेत्र नं.– २ मा भने पूर्व मन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार अफताब आलमले अग्रता लिएका छन्। प्राप्त मत परिणामअनुसार अफताब आलमले एक हजार १९२ मत र संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरण साहले ९२४ मत प्राप्त गरेका छन्। 

रौतहट क्षेत्र नं.– १ मा ८१ हजार ९१९ मतमा ५६ हजार ४६५ मत खसेको थियो भने क्षेत्र नं.– २ मा ७८ हजार ४७३ मतमा ५५ हजार १८९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

त्यस्तै, क्षेत्र नं.– ३ मा ८३ हजार ५४६ मतदातामा ६५ हजार ७१५ जना मतदाताहरूले मतदान गरेका थिए। क्षेत्र नं.– ४ मा ८५ हजार ६२३ मतदाता रहेकामा ६३ हजार ४८१ जना मतदाताले मतदान गरेको जानकारी दिइएको छ। 

मतगणनास्थल जुद्ध उच्चमावि गौर वरपर उम्मेदवारहरूका समर्थकहरूको बिहानैदेखि ठूलो भिड छ। रौतहटमा ६८ प्रतिशत मत खसेको थियो। जिल्लामा तीन लाख २९ हजार ८६१ मतदाता रहेका छन्। 

चारवटा प्रतिनिधिसभाका क्षेत्र रहेको रौतहटमा ९१ जनाको र प्रदेशसभामा १४४ जनाको उम्मेदवारी रहेको छ। प्रतिनिधिसभाको दुई ठाउँमा र प्रदेशसभाको एक एक ठाउँमा मत गणना भइरहेको छ। 

मंसिर २५ गते बेलुकासम्म मतगणना सक्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.