|

धादिङ :  धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश सभा ख मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जगत सिंखडा विजय भएका छन्। सिंखडाले लोकतान्त्रिक गठबन्धन तर्फका राप्रपा उम्मेदवार डम्बर तामाङलाई १८३१ .मतले पराजित गर्दै विजयी भएका हुन्।

निकै प्रतिस्पर्धात्मक रहेको मत गणनामा सिंखडाले १७६०५ मत र तामाङले १५७७४ मत ल्याएका छन्। वि.स. २०३० सालमा साविकको आगिञ्चोक गाविस वडा नम्बर १ मा जन्मिएका सिंखडा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव हुन्।

२०४६ साल कात्तिकमा भीमोदय माध्यमिक विद्यालय गोलाङले पञ्चायतविरोधी गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गरेपछि सिंखडाको औपचारिक राजनीतिक यात्रा सुरु भयो। उनले आइएसम्मको अध्ययन गरेका छन्। २०५३ सालमा माओवादी जनयुद्ध सुरु भएपछि उनी भूमिगत बनेर सक्रिय राजनीतिमा होमिए।

त्यसक्रममा माओवादी जनमुक्ति सेनाको धादिङ जिल्ला प्लाटुन कमिसार बनेर फौजी नेतृत्व सम्हाले। २०६१ सालमा पार्टीले उनलाई कास्की पठायो। पोखरा गएर उनी अखिल नेपाल ट्रेड युनियन महासंघको गण्डक क्षेत्रीय व्यूरो संयोजक बने। माओवादी शान्ति प्रक्रियामा आएपछि सिंखडा अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष बने। हाल उनी अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.