|

पाँचथर : पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ३८ हजार ६ सय ४२ मतका साथ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मतान्तरले पराजित गरे। आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरे। दुवै उम्मेदवारको यो चौथो पटकको चुनावी प्रतिस्पर्धा हो। तर यो भन्दा अघि भने यी दुवै उम्मेदवारबीच प्रतिस्पर्धा भने भएको थिएन।

को हुन वसन्त नेम्वाङ?

नेम्वाङले यसअघि पनि दुई पटक प्रतिनिधिसभामा पाँचथरबाट प्रतिनिधित्व गरिसकेका छन्। २०४८ र २०५६ सालमा भएको आम निर्वाचनमा उनले जिल्लाको निर्वाचन क्षेत्र नम्बर१ मा नेपाली कांग्रेसका उम्मेदवार दीपकप्रकाश बाँस्कोटालाई पराजित गरेका थिए। २०४८ सालमा ४० हजार १ सय ६२ मत खसेकोमा बाँस्कोटाले १३ हजार १ सय ८० मत र नेम्वाङले १३ हजार ४ सय ५७ मत प्राप्त गरेका थिए।

२०५६ सालमा भएको आम निर्वाचनमा भने नेम्वाङले १७ हजार ६ सय ८९ र बाँस्कोटाले भने १५ हजार १ सय ९१ मत मात्रै प्राप्त गरेका थिए। सो निर्वाचनमा नेम्वाङले बाँस्कोटालाई १ हजार ७ सय २६ मतले जिते। तर २०५१ को मध्यावधि निर्वाचनमा भने बाँस्कोटाबाटै उनी पराजित भएका थिए।

यसरी यसअघि २ पटक जित र १ पटक हारको इतिहास बोकेका नेम्वाङ वि.स.२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने उठेनन्। उनी १८ वर्षको कलिलो उमेरदेखि नै निरन्तर कम्युनिष्ट राजनीतिमा सक्रिय भएका थिए।

कानुनमा स्नातक उनले वि.स.२०३६ मा एमालेको प्रारम्भिक कमिटी सदस्य,जिल्ला कमिटी सदस्य,युवा संघको केन्द्रीय कोषाध्यक्ष हुँदै उपाध्यक्षको जिम्मेवारीमा पनि सम्हाले। उनी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रशासनिक सल्लाह भएका थिए।

वि.स. २०१८ चैत्र ८ गते जन्मिएका नेम्वाङ जलविद्युत क्षेत्रको लगानीकर्ता पनि हुन्। उनले पाँचथरसहित मुलुकको विभिन्न स्थानमा जलविद्युत क्षेत्रमा लगानी गरेका छन्। ७ सय ६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजना सरोकार समितिका संयोजक पनि हुन्। समितिमा पाँचथर,ताप्लेजुङ,तेह्रथुम लगायत जिल्लाका पूर्वमन्त्री र पूर्व सांसदहरु आवद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.