|

काठमाडौं : अबीर, माला र खादा लगाएका एक व्यक्ति शनिबार बिहानैदेखि काठमाडौंको राष्ट्रिय सभागृहको कम्पाउन्डभित्र छटपटिमा थिए। उनी घरी फोनमा कुरा गर्थे, घरी दायाँ, बायाँ हिडिरहन्थे भने कहिले नजिकै रहेको कुर्सीमा थ्याच्च बस्थे।

उनी रहेछन् काठमाडौं क्षेत्र नम्बर ३ बाट विजयी भएका एमालेका कृष्णबहादुर राई। नेकपा एमालेका काठमाडौं अध्यक्ष राई काठमाडौं क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम आएपछि बिहान ६ बजे राष्ट्रिय सभा गृह आइपुगेका थिए। कांग्रेसका उम्मेदवार तथा सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतलाई पराजित गरे। राईले १९ हजार १६९ मत ल्याए भने उनका प्रतिष्पर्धी बस्नेतले १४ हजार ८८४ मत ल्याइन्। 

आफू विजयी भएको थाहा पाउनेबितिकै गणनास्थल आइपुगेका राईलाई केही शुभचिन्तकले माला र अबीर लगाइदिए। उनी भन्दै थिए,‘नतिजा थाहा पाएपछि म यहाँ ५ बजे नै आएको हुँ।’ काठमाडौं क्षेत्र नम्बर ३ को सँगसँगै क्षेत्र नम्बर १ र ४ को पनि मत परिणाम आइसकेको थियो। क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमानसिंह विजयी भए।

उनले बिहानै गणनास्थल आएर निर्वाचित भएको प्रमाणपत्र पनि लिएर गए। त्यसपछि क्षेत्र नम्बर ४ मा विजयी भएका कांग्रेसका युवा नेता गगन थापा आए। उनी त्यहाँ आउँदा सञ्चारकर्मीहरुको भीड नै लाग्यो। त्यसबेला पनि राई सभागृहको कम्पाउण्डमै थिए। 

सभागृहको कम्पाउण्ड बाहिर सडकमा कांग्रेस कार्यकर्ताले विजयको नारा लगाइरहेका थिए। तर त्यहाँ एमाले कार्यकर्ता देखिएका थिएनन्। राईको अघि पछि केही कार्यकर्ता मात्र थिए। गगन थापाको विजय जुलुस सकिएपछि सञ्चारकर्मीको नजर कृष्णबहादुरतर्फ गयो। सञ्चारकर्मीसँग उनले प्रदेशको नतिजा आएपछि मात्र विजय जुलुस गर्ने बताए। उनले भने,‘हामी एकै पटक गर्छौँ। अब प्रदेशका पनि नतिजा आओस् अनि हामी सबैसँगै मिलेर विजय जुलुस मनाउँने छौं।’ 

त्यस लगत्तै वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु विस्तारै सभागृह बाहिर भेला हुन थाले। कार्यकर्ता भेला भएपछि राईको अनुहारमा केही चमक देखिदै थियो।  कार्यकर्ताले आफ्नो पक्षमा नारा लगाउन थालेपछि राई बाहिर सडकमा निस्किए।

केही समय उनी कार्यकतासँग रमाए। कार्यकर्तासँग केही समय विजय जुलुसमा सहभागी भए। त्यसपछि उनी फेरि कम्पाउण्ड भित्र गए। क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार समेत रहेका एमालेका नेता माधवकुमार नेपाल मतगणना स्थलमा आइपुगे। नेपालले राईलाई बधाई दिए र माला लगाइदिए। उनी दिउँसो १२ बजेसम्म सभा गृहमा नै थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.