जागिरे जीवन त्यागेर समाज परिवर्तनमा होमिएका योद्धा हुन् हिमशिखर

|

  • मनोज भट्टराई-

ओखलढुंगा : चर्चामा रहेको वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् मोहनकुमार खड्का हिमशिखर। मंसिर १० मा भएको पहिलो चरणको संसदीय निर्वाचनमा मंसिर २३ मा प्रदेशसभा सदस्य विजयी भए उनी। खड्का ओखलढुंगाको साविक क्षेत्र नं. २, प्रदेश ‘ख’ बाट वाम गठबन्धन उम्मेदवार बनेर विजयी भएका छन्।

निरन्तर जिल्लामा रहेर भूगोलको राजनीति गरेका खड्का पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्। चुनावी मैदानमा पहिलो पटक भए पनि निर्वाचन परिचालन र योजना निर्माणमा अब्बल मानिन्छन् उनी।

भूमिगत राजनीतिमा उनको उपनाम ‘हिमशिखर’ भएकाले धेरैले उनलाई हिमशिखर नै भनेर चिन्ने गरेका छन्। जागिरे जीवन, भूमिगत राजनीतिमा होस् या पछिल्लो समय, सबैको मनमस्तिष्कमा बस्न सफल ओखलढुंगाका एक राजनीतिज्ञ हुन् हिमशिखर।

को हुन् मोहनकुमार खड्का हिमशिखर?

मोहनकुमार खड्का २०२३ सालमा ओखलढुंगाको साविक सिंहदेवी, हाल लिखु गाउँपालिका २ मा जन्मिएका थिए। आमा हिरादेवी खड्का र बुबा नरबहादुर खड्काबाट जन्मिएका ६ दिदी–बहिनी र ६ दाजु–भाइ गरी एकदर्जन दाजुभाइ दिदीबहिनीमध्ये खड्का साहिला छोरा हुन्।

उनी मालेकालीन कम्युनिस्ट पार्टीका सदस्य हुन्। निर्दलीय व्यवस्था कि बहुदलीय व्यवस्था भनेर जनमत संग्रह हुँदै गर्दा अखिल एकताको पाँचौँबाट ०३६ सालमा राजनीति सुरु गरेका खड्का २०४० सालदेखि शिक्षण पेशामा आबद्ध भए। २०४५ सालमा तत्कालीन नेकपा मालेको उम्मेदवार सदस्य भएका खड्का ०४७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य बने।

शिक्षक भएर कम्युनिस्ट राजनीति गरेका उनी नेकपा माक्र्सवादीसँग मालेको एकतापछि बनेको नेकपा एमालेको शिक्षक संगठनको जिल्लाको नेतृत्व तहमा बसेर लामो समय काम गरे।

२०५३ सालमा राष्ट्रिय जनवादी क्रान्तिकारी मोर्चाको केन्द्रीय सदस्य बनेका खड्का २०५४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनअन्तर्गत नेकपा(एमाले)को फ्याक्सन सेक्रेटरी बने।

राष्ट्रिय जनवादी क्रान्तिकारी मोर्चाको केन्द्रीय सदस्य हुँदै गर्दा उनलाई माओवादीको अभियोगमा प्रहरीले पक्राउ गरी ७ दिनसम्म हिरासतमा राखी चरम यातना दियो। प्रहरी हिरासतबाट निस्किएपछि पनि उनलाई माओवादी जनयुद्धमा नहोमिएसम्म पटक–पटक गरी ७ पटकसम्म प्रहरीले पक्राउ गरी हिरासतमा राख्दै यातना दियो।

कम्युनिस्ट भएका कारण देशमा नेपाली कांग्रेसको सत्ता भएको वेला उनले धेरै दुःख तथा यातनासमेत भोग्नुप¥यो। कांग्रेसी सत्ताको चरम दुरुपयोग र दमनका कारण अन्याय, अत्याचारविरुद्ध लागिपर्ने प्रण गर्दै देशमा नेकपा(माओवादी)ले जनयुद्ध सञ्चालन गर्दै गर्दा उनी सोही पाटीको पार्टी सदस्य बने ०५६ सालमा। २०५८ को जेठमा नेपाल बुद्धिजीवी संगठनको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यसमेत बने।

त्यतिवेलाको कांग्रेसी सत्ताले कम्युनिस्ट खेदाउने अभियानमा धेरै पटक कोपभाजनमा परेका थिए खड्का। अन्ततः पेन्सन हुने वेलाको शिक्षकको जागिरे जीवन छोडेर अन्यायविरुद्ध लड्न ०५८ सालको भदौ महिनाबाट नेकपा माओवादीको पूर्णकालीन सदस्य हुँदै भूमिगत राजनीतिमा सामेल भए।

२०५९ मा नै जिल्ला कमिटीको सदस्य बनेका उनी ०६१ सालमा नेकपा माओवादीका जिल्ला सेक्रेटरी एवं उपब्युरो सदस्य भए। २०६६ सालसम्म नै उनी जिल्ला सेक्रेटरी भएर रहे।

२०६७ मा उनी एमाओवादी ओखलढुंगाको सहइन्चार्ज भए भने पार्टी विभाजनपछि २०६८ मा नेकपा–माओवादीको जिल्ला इन्चार्ज र २०७१ मा नेकपा–माओवादीको केन्द्रीय सदस्य बने। २०७३ सालमा नेकपा (माओवादी केन्द्र)को  केन्द्रीय सदस्य र ओखलढुंगा जिल्ला संयोजक बनेका उनी हाल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य छन्।

खड्का शिक्षाको मन्दिरको रुपमा लिइने संस्था हिमगंगा क्याम्पस साँघुटार, रामेछाप र युगकवि सिद्धिचरण क्याम्पस गाम्नाङटार, ओखलढुंगाको संस्थापक सदस्यसमेत हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी जिताउने अभियानको कमान्ड सम्हालेका खड्का अहिले ओखलढुंगामा वाम गठबन्धनको तर्फबाट प्रदेश ‘ख’ को उम्मेदवार बनेर विजयी भएका छन्।

राजनीतिक न्याय र परिर्वतनका लागि हिमशिखर

जागिरे जीवन छोडेर समाज राजनीतिमा होमिएका उनी गणित विषयका माध्यमिक तहका शिक्षक थिए। अधिकृतस्तरको जागिर त्यागेर भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्ध विगुल फुक्न उद्धत एक जना युवा अहिले राजनीतिक परिर्वतन र सामाजिक न्यायको अभियान्ता बनेकै कारण विजयी हुन सकेको ओखलढुंगेली जनताको ठहर छ।

धेरैले राजनीतिमा लागेर पद, प्रतिष्ठा र आर्थिक आर्जन गरेका छन्। तर, ठिक विपरीत सामाजिक न्याय र समतामूलक समाज निर्माणको अभियानमा व्यक्तिगत सुखसयल र जागिरे जीवन त्यागेर परिवर्तनमा लागेका खड्कालाई राजनीतिक न्याय र समाजको सहि विकास र निकास दिने नेतृत्व भएकाले नै जनताले मतदान गरेका छन्।

उनी कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवार, जो कांग्रेसको रेडजोन १ बाट सेफजोन मानेर क्षेत्र नं. २ मा गएर उम्मेदवार बनेका थिए तिनै सुनुवारसँग भिड्दै गर्दा विजयी भएका हुन्। सेफजोन मानेर क्षेत्र नं. २ मा उम्मेदवारी दिएका कांग्रेस सभापति सुनुवारलाई १ हजार ७ सय ७४ मतान्तरले हराउन सफल भए।

खड्काले १५ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सुनुवारले १३ हजार ७ सय ११ मत प्राप्त गरेका थिए। आफ्नै पार्टीको भगिनी संस्था तरुणदलका जिल्ला अध्यक्षले बागी उम्मेदवारी दिएपछि कांग्रेसमा भने खैलाबैला मच्चिएर दाँतमा ढुंगो लागेसरह भएको छ।

सोही कारणले कांग्रेसले हारेको आँकलन ओखलढुंगामा हुन थालेको छ। कांग्रेसका विद्रोही उम्मेदवार तरुण दल ओखलढुंगामा अध्यक्ष ज्ञानेन्द्र रुम्दाली राईले १ हजार ८ सय ५७ मत ल्याएका छन्। वागी उम्मेदवार पनि यही क्षेत्रमा रहेकाले खड्काको जित सहज भएको हो।

ओखलढुंगामा वाम गठबन्धनबाट संघीय प्रतिनिधिसभामा यज्ञराज सुनुवार  क्षेत्र नं. १ मा अम्बिरबाबु गुरुङ २ मा माओवादी केन्द्रका मोहनकुमार खड्काले कांग्रेसको गढ मानिँदै आएको ओखलढुंगालाई भत्काउन सफल भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.