|

रुकुमः रुकुम पश्चिम प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्। शर्माले ३४ हजार ४०२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालजीजङ शाहले १५ हजार ६५९ मत प्राप्त गरे। 

शर्मा र शाहबीच १८ हजार बढी मतान्तर छ। जनार्दन शर्माले आफ्नो जीतमा ह्याट्रिक गरेका छन्। पहिलो संविजधानसभा, दोस्रो संविधानसभा र अहिले प्रतिनिधिसभा चुनावमा गरी तीन पटक जीतेर उनले ह्याट्रिक गरेका हुन्। विजयपश्चात विजयसभामा बोल्दै शर्माले रुकुम र रुकुमेलीहरूलाई आफूले कहिल्यै निराश नबनाउने बताएका छन्।

अमूल्य मत दिएर रुकुमेली जनताहरू सधैँ आफ्नो पक्षमा रहेको भन्दै शर्माले सबै मतदाताहरूलाई धन्यवाद समेत दिएका छन्। विना विभागीयमन्त्रीसमेत रहेका शर्माले शनिबार सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरिएको विजयसभामा यस्तो बताएका हुन्। ‘म तपाईंहरूलाई कहिल्यै निराश बनाउनेछैन, रुकुमेलीहरूको शिर निहुरिन दिनेछैन’, उनले भने, ‘रुकुमेलीहरू मात्र नभएर नेपालका सबै मलाई आशा र विश्वास गर्ने जनताप्रति म समर्पित हुने प्रतिबद्धता जनाउँछु।’ 

रुकुमको विकास र समृद्धिको सपना पूरा गर्न निर्वाचनअघि घोषणा गरिएको आफ्नो मार्गचित्रअनुसार नै अघि बढ्ने बताउँदै त्यसका लागि मतदानको बेला जस्तै गरी निरन्तर जनताको साथ र सुझावको आशा र विश्वास राखेको उनले बताए। 

को हुन् जनार्दन?
५४ वर्षका जनार्दन शर्मा मुसिकोट नगरपालिका– ५, सेरीगाउँका स्थायी बासिन्दा हुन्। २०४८ सालमा संयुक्त जनमोर्चाबाट चुनाव लडेका उनी त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवारबाट पराजित भएका थिए। गणतन्त्रपछिको २०६४ सालमा भएको संविधानसभाको चुनावमा उनी विजयी भए। पुनः २०७० सालमा पनि उनी विजयी भए। २०६४ सालमा शान्तिमन्त्री भएका उनी २०७३ सालमा ऊर्जामन्त्री भए। 

माओवादी जनसेनाको कमाण्डरदेखि २०७४ सालमा गृहमन्त्रीसम्म भएका उनी राजनीतिक घटनाक्रमपछि अहिले विना विभागीयमन्त्री छन्। ऊर्जामन्त्री हुँदा निकै राम्रो काम गरेर चर्चा कमाउन सफल उनी राष्ट्रिय राजनीतिमा पनि एउटा प्रमुख पात्रका रूपमा देखापरिरहेका छन्। बेलाबेला मन्त्री हुँदा उनले रुकुमको विकास र द्वन्द्वपीडित परिवारको राहत तथा पुनर्निर्माण कार्यमा महत्त्वपुर्ण भूमिका खेलेका छन्।

प्रदेश ‘ख’मा गोपाल शर्मा
रुकुम पश्चिम प्रदेशसभा ‘ख’मा पनि वाम गठबन्धन तथा माओवादी केन्द्रका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन्। शर्माले १८ हजार ५८७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्कबहादुर डाँगीले आठ हजार १२७ मत प्राप्त गरे।

शर्मा र डाँगीबीच पनि दोब्बरभन्दा बढी मतान्तर छ। विजयसभामा बोल्दै शर्माले आफूलाई मत हालेर महत्त्वपूर्ण जिम्मेवारी दिने मतदाताहरूलाई धन्यवाद दिँदै आफ्नो प्रतिद्वन्द्वी उम्मेदवारलाई मत हालेका मतदाताहरूलाई पनि आफ्नो उम्मेदवार भएन भनेर निराश नहुन आग्रह गरे। आफ्नो क्षेत्रका समग्र जनताको विकास र सामाजिक न्यायको अभियानमा सबैलाई समेटेर लैजाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। 

उनी २०४५ सालदेखि विद्यार्थी राजनीतिमा संगठित भएका हुन्। तत्कालीन नेकपा माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धमा गएपछि उनी भूमिगत भएर राजनीति गर्न थाले। २०५६ सालमा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बने। पार्टीको पोलिटव्युरो सदस्यसमेत भएका र पार्टीभित्र प्रभावशाली मानिने शर्मा जनतासँग सजिलै घुलमिल हुनसक्ने नेताका रूपमा चिनिन्छन्। 

प्रदेश ‘क’मा रातो कामी
रुकुम प्रदेशसभा ‘क’मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रातो कामी विजयी भएका छन्। कामीले १६ हजार ८१० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर रोकायले आठ हजार ५७७ मत ल्याए। 

कामीले रोकायलाई दोब्बर बढी मतान्तरले पराजित गरेका छन्। विजयसभामा बोल्दै कामीले उत्पीडित समुदायको उम्मेदवारलाई जनताले भारी मतका साथ विजयी गराएर ठूलो गुण लगाएको बताउँदै आफूले निरन्तर रुकुमका उत्पीडित समयुदायको हकअधिकारसँगै दुर्गम गाउँको विकासमा ध्यान केन्द्रित गर्ने बताए। 

कामी माओवादी केन्द्रभित्रका प्रभावशाली दलित नेता हुन्। उनले माओवादी केन्द्रमा त्यागी नेताको रूपमा परिचय बनाएका छन्। २०५४ को स्थानीय चुनावमा एमालेबाट निर्वाचन जितेका उनले एमालेबाट राजनीति सुरु गरेका हुन्। २०५५ मा माओवादीमा आवद्ध कामीले पार्टी र स्थानीयस्तरमा जनताको मन जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.