|

दमक(झापा): देशभरमा चासोपूर्वक हेरिएको झापा क्षेत्र नम्बर– ५ को चुनावी परिणाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्पर्धीलाई ठूलो मत अन्तरले पराजित गरेका छन्। 

नेपाली राजनीतिका पारंगत खेलाडी ओलीले प्रतिद्वन्द्वीलाई पछ्याउनै नसक्ने गरी सुरुदेखि नै उछिनेका थिए। मतको छिनोफानो हुँदा ओलीले ५७ हजार १३९ मत प्राप्त गरे। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले भने  २८ हजार २९७ मत मात्र प्राप्त गरे। १७ वर्ष लामो प्राध्यापन पेसा छाडेर राजनीतिमा आएका अधिकारीको पहिलो राजनीतिक प्रतिष्पर्धा नै अफापसिद्ध बन्यो। 

को हुन् ओली?
केपी शर्मा ओली राष्ट्रिय राजनीतिमा एउटा स्थापित नाम हो। २००८ फागुन ११ गते तेह्रथुममा जन्मिएका ओली २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री भए भने २०६४ देखि २०६५ सम्म उपप्रधान एवम् परराष्ट्रमन्त्री पनि बनिसकेका छन्। 

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका उनले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका एक अगुवा ओलीले पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा २०२८ देखि २०४४ सालसम्म १४ वर्ष जेल जीवन बिताएका छन्। ओली २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं.– ६ बाट प्रतिनिधिसभामा निर्वाचित भए पनि पहिलो संविधानसभा निर्वाचन २०६४ मा पराजित भए। दोस्रो पटक भने उनी निर्वाचित भएर नेकपा एमालेको अध्यक्ष र देशकै प्रधानमन्त्री पनि बनिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.