|

लहान : २०७० सालको संविधानसभाको निर्वाचनमा सिरहा ५ बाट नेकपा (माओवादी केन्द्र) तथा पूर्वप्रधानमन्त्री प्रचण्डका प्रतिस्पर्धी नेकपा (एमाले) का लीलानाथ श्रेष्ठले माओवादी केन्द्र समेतको सहयोगमा चार वर्षपछि प्रतिनिधिसभाका लागि सिरहा ३ बाट जितेका छन्। श्रेष्ठको जितसँगै प्रतिनिधिसभामा वाम गठबन्धनले खाता खोलेको छ।

वाम गठबन्धनबाट एमालेका उम्मेदवार रहेका श्रेष्ठले २ हजार ५२ को मतान्तरले जितेका हुन्। उनले २३ हजार २ सय ७२ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवले २१ हजार २ सय २० मत प्राप्त गरेका छन्।

‘गरिब र पिछडिएको रुपमा लिइने सिरहालाई समृद्ध बनाउन सम्पूर्ण रुपले लाग्नेछु’ जितपछि उनले भने, ‘गठबन्धनसहित विगतमा आफूले जनताका लागि गरेको कामको कदरस्वरुप विश्वास गरेर जिताएका छन्, त्यो विश्वासलाई कायम राख्दै नमुना जिल्ला बनाउन लाग्नेछु ।’

को हुन् लीला?

सिरहाको गोलबजार नगरपालिका ७ मा घर रहेका ६० वर्षीय श्रेष्ठ २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति चुनिएका थिए। जिल्लाको उपसचिव, सचिव हुँदै जिल्ला पार्टी अध्यक्षको भूमिका निभाएका श्रेष्ठ २०७० को संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी रहेकाले चर्चामा थिए।

जिविस उपसभापति भएलगत्तै जिल्लाको पूर्वाधार विकासका लागि पाँच वर्षे योजना निर्माण र कार्यान्वयन, कमलाको बाढीले बर्सेनि जिल्ला सदरमुकाम सिरहासहित वरिपरिका तत्कालीन ८ गाविसले भोग्दै आएको डुबानको समस्याको अन्त्य, ३ नं. क्षेत्रमा विकास निर्माणको कामको मूल्यांकन गरेर यो पटक जनताले जिताएको बताउँछन्, उनी।

वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै राजनीतिक यात्राको थालनी गरेका श्रेष्ठ ५० को दशकदेखि विभिन्न भूमिकामा पार्टीको जिल्ला नेतृत्वमा रहेर काम गर्दै आएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.