|

जनकपुरधामः प्राचीन मिथिलाको राजधानी र जानकीको जन्मभूमि जनकपुरधामबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी भएका छन्। 

पौराणिक तथा  ऐतिहासिक रूपमा प्रख्यात जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र र विभिन्न विद्वान्, विदूषीद्वारा शास्त्रार्थ सुविख्यात, छवटा पूर्वीय दर्शनमध्ये चारवटाको रचनास्थल मानिन्छ। मिथिलाको राजधानी जनकपुरमा राजेन्द्र महतोको जीतले यहाँको माहोल नै परिवर्तन भएको छ।

धनुषा क्षेत्र नं.– ३ मा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं प्रभावशाली नेता विमलेन्द्र निधिसँगको प्रतिस्पर्धामा दुई हजार ९०३ मत बढी ल्याएर महतो विजयी भएका हुन्। राजपाका महतोले ३० हजार ७४२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले २७ हजार ८२८ मत ल्याएर पराजय भोग्नुपरेको छ।

को हुन् महतो?
कुनै एक समयमा काठमाडौंमा व्यापार व्यवसायमा जमेका राजेन्द्र महतो अहिले राजनीतिमा जमेका छन्। २०४६ सालको आन्दोलनको समयमा महतो आफ्नो अध्ययनपश्चात काठमाडौं ट्राभल एजेन्सी, कुरियर सेवा, मोटर सेवालगायत विभिन्न व्यवसायमा जमेलगत्तै २०४६ सालमा आन्दोलनकै समयमा काठमाडौंको डिल्ली बजारमा स्व. गजेन्द्रनारायण सिंहसँगको भेटघाटपछि सद्भावना परिषदमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गरे।

महतोले प्रवीणता स्नातक तहसम्मको अध्ययन गरेका छन्। महतो २०४६ सालको आन्दोलनमा गजेन्द्रनारायण सिंहको तत्कालीन सद्भावना परिषदमा अप्रत्यक्ष रूपमा सहयोग गर्दै पञ्चायतकालमा सिंह सप्तरीबाट लड्दा धोतीको पहिचान र मधेसको मुद्धा उठाउँदा सिंहप्रति महतो विद्यार्थीकालदेखि नै आकर्षित थिए। २०४८ सालको पहिलो निर्वाचनमा सर्लाहीबाट महतोले प्रतिनिधिसभाको चुनाव लड्दा नेपाली कांग्रेसकी मीना पाण्डेसँग पराजित भए। एक हजार ३०० मत अन्तरले महतो दोस्रो स्थानमा पुगेका थिए। 

त्यसपछि २०५१ सालको मध्यावधि चुनावमा पुनः सोही क्षेत्रबाट चुनाव लड्दा ३०० मत अन्तरले फेरि मीना पाण्डेसँग महतो पराजित भए। त्यतिबेला देशका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पनि सोही क्षेत्रबाट चुनाव लड्दा थापा तेस्रो भएका थिए।

२०५६ सालको निर्वाचनमा फेरि महतोले मीना पाण्डे र सुर्यबहादुर थापासँग चुनाव लडे, तर त्यहाँ महतो अत्यधिक मत अन्तरले निर्वाचित भए। २०६४ सालको पहिलो संविधानसभाको चुनावमा अत्यधिक मतले सद्भावना पार्टीका अध्यक्षको हैसियतमा राजेन्द्र महतोले चुनाव जिते पनि २०७० सालमा भएको दोस्रो पटकको संविधानसभाको चुनावमा महतो तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवबाट पराजित भए।

२०६२/०६३ को जनआन्दोलनपश्चात नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा राजेन्द्र महतो उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीको रूपमा पहिलो पटक मन्त्री बनेका थिए। त्यसपछि प्रथम संविधानसभाको चुनावपछि पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा र माधवकुमार नेपालको सरकारमा समेत बाणिज्य तथा आपूर्तिमन्त्री भए। त्यसैगरी डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा समेत उनी स्वास्थ्यमन्त्री बनेका थिए।

बाणिज्य तथा आपूर्तिमन्त्री भएको बेलामा नेपाल–भारत व्यापार सन्धि, नेपाल–भारत पारवहन सन्धि गर्नुका साथसाथै पेट्रोल र डिजलमा हुने मिसावट तथा भ्रष्टाचार रोक्नका लागि उनको पहल सकारात्मक रहेको थियो। महतो स्वास्थ्यमन्त्री हुँदा जनकपुर अञ्चल अस्पताललाई ५०० बेडको अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो।

जीतपछि महतोले भनेः ‘यो जीत मधेस आन्दोलनको जीत हो।’
धनुषा क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका राजेन्द्र महतोले मधेस आन्दोलनको जीत भएको बताएका छन्। आफ्नो जीतपछि संचारकर्मीसँग कुरा गर्दै आफ्नो जीतलाई मधेस आन्दोलनतको जीत बताएका हुन्।

‘यो मधेस आन्दोलनको जीत हो, धनुषाको जीत हो, सम्पूर्ण मधेसी जनताको जीत हो’, महतोले भने, ‘जनकपुर मधेस आन्दोलनको राजधानी भएकाले यहाँबाट मधेसवादी दलले जित्नु भनेको ठूलो उपलब्धि हो।’ अब संविधान संशोधन र मधेस विकासका लागि मेरो प्रयास सधैँ रहन्छ।

‘संविधान संशोधनका लागि केन्द्रमा हाम्रो संघर्ष जारी रहन्छ, हामीलाई पूरा विश्वास छ, दुई नम्बर प्रदेशमा हाम्रो सरकार बन्छ, त्यो सरकारमार्फत् हामी विकासको एजेन्डा अघि बढाउछौँ’, महतोले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.