|

दमक(झापा): प्रतिनिधिसभा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा झापामा नयाँ चर्चा फैलियो। सामाजिक सञ्जालदेखि चिया पसलसम्म यसबारे बहस भयो। कारण थियो, झापाको क्षेत्र नं.– १ को मत परिणाम र प्रतिष्पर्धीबीचको हार्दिकता। 

राष्ट्रिय राजनीतिमा बहसको विषय बनेको झापा क्षेत्र नं.– १ बाट प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता सुरेन्द्रबहादुर कार्की ‘पार्थ’  विजयी बने।  कार्कीले ३६ हजार १७३ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत प्राप्त गरे। तर विश्वप्रकाशले यसरी हार्दिकता प्रकट गरे कि सबै चकित बनिरहेका छन्। उनले चुनावी अभियानमा बोलेको बाचा पूरा पनि गरे। 

उनले चुनावी प्रचारका बेला भनेका थिए, ‘यदि दाइ (सुरेन्द्र)ले चुनाव जित्नुभयो भने म मेरै हातले गाँसेको माला लिएर दाइलाई लगाइदिन आइपुग्नेछु।’ उनले आफूहरूबीचमा चुनावी प्रतिष्पर्धा सौहार्द हुने भन्दै आफूले पनि त्यही अपेक्षा गरेको बताएका थिए। माओवादी केन्द्रमा अध्ययनशील नेताको रूपमा चिनिएका कार्कीले पनि विश्वलाई भनेका थिए, ‘हामीबीचको प्रतिष्पर्धा चुनावी मात्रै हुनेछ। हामीमा दाइ–भाइको सम्बन्ध सधैँ रहनेछ।’ 

नभन्दै, भने मात्र होइन, गरे पनि विश्वले। कार्की विजयी भएलगत्तै उनी फूलको माला बोकेर कार्कीलाई लगाइदिन पुगे। अनि हँसिलो मुद्रामा कार्कीसँग सेल्फी पनि खिचे। उनको यो तस्वीर झापाका कांग्रेसहरूबीचमा मात्र नभई अन्य आस्थाका व्यक्तिहरूबीचमा पनि ‘भाइरल’ बनेको छ। 

विश्वप्रकाश शर्मा नेपाली कांग्रेसवृत्तमा तार्किक र बौद्धिक नेताको रूपमा स्थापित छन्। उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि एमालेका रविन कोइरालासँग पराजित भएका थिए। 

कार्कीले निर्वाचन जितेको झापा क्षेत्र नं.– १ प्रदेश ‘ख’मा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी विजयी भएका छन्। उनले १७ हजार ८३९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोक पोखरेलले नौ हजार ९७८ मत प्राप्त गरेका छन्।  क्षेत्र नं.– १ मा कूल ७५ हजार ८७० मत खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.