|

काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लडे। वाम गठबन्धन बनाएर निर्वाचन लड्दा यी दुई पार्टीलाई राम्रै फाइदा भयो। हालसम्म मत गणना सम्पन्न भएका मध्ये एमालेले ६१ स्थानमा जीत हासिल गरेको छ भने १८ स्थानमा अग्रता लिएको छ। माओवादी केन्द्रले २४ स्थानमा विजय हासिल गरिसकेको छ भने १० स्थानमा अग्रता लिएको छ।

यस्तै, कांग्रेसले १२ स्थानमा विजय हासिल गरेको छ भने ११ स्थानमा अग्रता लिएको छ। वाम गठबन्धनले यसरी धेरै स्थानमा जीत हासिल गर्दै गर्दा गठबन्धनका केही उम्मेदवारले भने हार व्यहोर्नुपरेको छ। यसरी हार व्यहोर्नेहरूमा केही चर्चित नेता पनि रहेका छन्।

वामदेव गौतम, नेकपा एमाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बर्दिया क्षेत्र नम्बर- १ बाट पराजित भए। २०२१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर २०२६ सालमै पूर्णकालीन राजनीतिमा आएका थिए उनी। २०५३ र २०६५ सालमा उपप्रधानमन्त्री भएका गौतमले २०४८ र २०५१ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा बर्दिया- १ र प्युठान- १ बाट चुनाव जितेका थिए। गौतम २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका थिए।

गौतमलाई यसपटक भने कांग्रेसका सञ्जय गौतमले ७५३ मतले पराजित गरे। सञ्जयले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत ल्याए। पटक पटक सरकारमा सहभागी हुँदा गृहमन्त्रालयको जिम्मेवारी लिएका गौतमले २०५४ सालमा नेकपा एमालेबाट अलग भई सहाना प्रधानको अध्यक्षतामा सीपी मैनालीसँग मिलेर नेकपा माले गठन गरेका थिए।

नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्र

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा- २ मा नयाँ शक्ति पार्टी नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भए। भट्टराईले ३१ हजार ८०७ मत ल्याउँदा श्रेष्ठले २४ हजार ९३३ मत मात्र प्राप्त गरे। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर- २ बाट पराजित श्रेष्ठ यसपटक गृहजिल्लाबाट प्रतिष्पर्धामा थिए। तर उनी पूर्व सहकर्मी डा. भट्टराईको अगाडि मतदाताको रोजाइमा परेनन्।

२०६४ सालमा समानुपातिक निर्वाचन पद्धतिबाट सांसद भएका श्रेष्ठ २०३३ सालदेखि राजनीतिमा सक्रिय छन्। २०६५ सालमा तत्कालीन एकता केन्द्र श्रेष्ठकै नेतृत्वमा नेकपा माओवादीसँग एकतामा आएको थियो।

हितमान शाक्य, नेकपा माओवादी केन्द्र

माओवादी केन्द्रका चर्चित नेता हितमान शाक्य काठमाडौं- १० बाट पराजित भए। जनयुद्धमा प्रभावशाली भूमिका खेलेका शाक्य कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित भए। केसीले १९ हजार ६४५ मत प्राप्त गर्दा शाक्यले १७ हजार ३९६ मत मात्र प्राप्त गरे।

डा. राजन भट्टराई, नेकपा एमाले

निर्वाचन हुनुअघिदेखि मत परिणाम सार्वजनिक भएसम्म चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर- ४ मा एमालेका युवा नेता डा. राजन भट्टराई पराजित भए। उनलाई कांग्रेसका युवा नेता गगनकुमार थापाले पराजित गरे। थापाले २१ हजार ५५८ ल्याउँदा भट्टराईले १८ हजार १४० मत ल्याए।

विदेश मामिलाका विज्ञ भट्टराई एमालेका केन्द्रीय सदस्य हुन्। उनले एमालेको विदेश विभागमा काम गर्दै आएका छन्। २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकार थिए।

झक्कुप्रसाद सुवेदी, नेकपा माओवादी केन्द्र

२०६४ सालमा एमाले नेता माधवकुमार नेपाललाई काठमाडौं- २ मा पराजित गरेर चर्चामा आएका माओवादी नेता सुवेदी यस पटक भने काठमाडौं- ६ बाट निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए। तर उनले यसपटक भने त्यस क्षेत्रबाट पराजय भोग्नुपर्‍यो। उनलाई कांग्रेसका भीमसेनदास प्रधानले पराजित गरे। प्रधानले १६ हजार ७८५ मत प्राप्त गरे भने वाम गठबन्धनका नेता सुवेदीले १५ हजार ४८५ मत मात्र प्राप्त गरे। पहिलो संविधनासभाको निर्वाचनमा विजयी भएका सुवेदीले २०७० सालको देस्रो संविधानसभा निर्वाचनमा प्रतिष्पर्धा गरेनन्।

खगराज भट्ट, नेकपा माओवादी केन्द्र

२०६४, ०७० र ०७४ को निर्वाचनमा डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडेका माओवादी नेता भट्टले तेस्रो पटक पनि नर्वाचन हारे। उनी प्रधानमन्त्री देउवासँग छ हजार ९२९ मतले पराजित भए। देउवाले २८ हजार ४४ मत ल्याउँदा उनले २१ हजार ११५ मत ल्याए। उनी २०६० सालदेखि तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिमा छन्। वाम गठबन्धनबाट निर्वाचन लडेका भट्टले देउवासँगको हारमा ह्याट्रिक बनाए।

जनार्दन ढकाल, नेकपा एमाले

एमाले नेता ढकाल एमाले र माओवादीको गठबन्धन हुँदाहुँदै पनि रसुवाबाट पराजित भए। उनलाई कांग्रेसका मोहन आचार्यले पराजित गरे। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा रसुवा क्षेत्र नम्बर- १ मा निर्वाचित भएका थिए। यसपटक भने उनी पराजित भए। उनले १० हजार २७८ मत ल्याउँदा विजयी भएका आचार्यले १४ हजार ४५३ मत प्राप्त गरे।

अनिलकुमार शर्मा, नेकपा माओवादी केन्द्र

विद्यार्थी राजनीतिबाट आएका शर्मा माओवादी केन्द्रका नेता जनार्दन शर्माका भाइ हुन्। दाजु जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा देशमा लोडसेडिङ अन्त्य गरेर चर्चामा अएका थिए। उनका भाइ भएर चर्चामा रहेका अनिलले निर्वाचन भने हारेका छन्। आफ्ना दाजु जनार्दनले रुकुम पश्चिमबाट निर्वाचन जित्दै गर्दा अनिल भने काठमाडौं- १ मा तेस्रो स्थामा मात्र अएका छन्।

त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भए। उनले १० हजार ९३६ मत ल्याउँदा विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले १० हजार ११८ मत प्राप्त गरे भने अनिलकुमार शर्माले पाँच हजार ३३६ मत पाए।

उमेशकुमार यादव, नेकपा माओवादी केन्द्र

माओवादी केन्द्रका नेतासमेत रहेका यादव सप्तरी- २ बाट पराजित भए। पूर्व सिँचाइमन्त्रीसमेत रहेका यादव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए। उपेन्द्रले २१ हजार ६२० मत प्राप्त गर्दा उनले ११ हजार ५८० मत ल्याए। उनी माओवादीभित्र प्रभावशाली मानिन्छन्।

मोहम्मद मुस्ताक आलम, नेकपा एमाले

पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका एमाले नेता आलम यस पटक भने रौतहट- २ बाट पराजित भए। उनलाई कांग्रेस नेता मोहम्मद अफताब आलमले पराजित गरे। कांग्रेसका अफताबले १८ हजार ८३३ मत ल्याउँदा एमालेका मुस्ताकले १३ हजार ८८३ मत ल्याए। २०४७ सालदेखि नेपाली कांग्रेसबाट पूर्णकालीन राजनीति सुरु गरेका आलम पछि मधेसवादी दल लोकतान्त्रिक फोरम हुँदै हाल नेकपा एमालेमा प्रवेश गरेका थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा त्यही क्षेत्रबाट लोकतान्त्रिक फोरम नेपालबाट विजयी भएका थिए।

ऋषिकेश पोखरेल, नेकपा एमाले

वाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका एमाले मोरङ सचिव पोखरेल पराजित भए। उनलाई कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले पराजित गरे। रिजालले ३५ हजार ८१९ मत प्राप्त गर्दा पोखरेलले १४ हजार १४ मत पाएका थिए। पोखरेल २०३९ सालदेखि नै विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका थिए। उनले अनेरास्ववियूको जिल्ला सचिव र अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। उनी २०५२ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापतिसमेत भए।

अशोककुमार मण्डल, नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अशोककुमार मण्डल सप्तरी- १ बाट संघीय समाजवादी फोरम नेपालका डा. सूर्यनारायण यादवले पराजित गरे। यादवले २१ हजार ७१२ मत प्राप्त गर्दा मण्डलले १८ हजार २२५ मत ल्याए। मण्डल यसअघि २०७० सालको चुनावमा सप्तरी क्षेत्र नम्बर- २ बाट विजयी भएका थिए।

डिलाराम आचार्य, नेकपा माओवादी केन्द्र

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य आचार्य रूपन्देही- ५ बाट पराजित भए। उनलाई कांग्रेसका भरतकुमार साहले पराजित गरे। साहले ३३ हजार ८८ मत प्राप्त गर्दा आचार्यले २० हजार ४३८ मत मात्र प्राप्त गरे। आचार्य २०३७ सालबाट सक्रिय राजनीतिमा लागेका थिए। उनी २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँची - १ बाट राष्ट्रिय जनमोर्चाको तर्फबाट विजयी भएका थिए।

ओमप्रकाश यादव, नेकपा एमाले

एमाले नेता यादव रूपन्देही- ४ बाट पराजित भए। वाम गठबन्धनका तर्फबाट निर्वाचन लडेका यादवले उनको निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो। त्यस क्षेत्रमा कांग्रेसका प्रमोदकुमार यादव विजयी हुँदा उनी तेस्रो भए। प्रमोदले ३१ हजार ७१८ मत ल्याउँदा राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लले २० हजार ४१६ मत ल्याए भने ओमप्रकाशले चार हजार ७९ मत प्राप्त गरे। उनी पहिलो संविधानसभाको निर्वाचनमा रूपन्देही- ‍२ बाट निर्वाचित भएका थिए।

ताराकान्त चौधरी, नेकपा एमाले

नेकपा एमालेका नेता ताराकान्त चौधरी सप्तरी- ३ बाट पराजित भए। देशभर वाम गठबन्धनले विजय हासिल गरिरहँदा चौधरीको भने भाग्य खुलेन। उनले सप्तरीमा तेस्रो स्थान मात्र प्राप्त गरे। त्यस क्षेत्रमा राजपाका चन्द्रकान्त चौधरी विजयी भए। उनले २२ हजार ५८४ मत प्राप्त गर्दा कांग्रेसका दिनेशकुमार यादवले १९ हजार ४०१ मत ल्याए भने ताराकान्तले ११ हजार १८८ मत प्राप्त गर्दै तेस्रो भए। ताराकन्त २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी- ४ बाट विजयी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.