|

बर्दिया : मंसिर २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना बर्दियामा  आइतबार सकिएको छ। घोषित परिणाम अनुसार बर्दिया १ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतम थोरै मतान्तरमा पराजित भएका छन्।

उनलाई ७ सय ५३ मतले पराजित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति तथा वर्तमान सिचाई मन्त्री सञ्जय गौतम विजयी भए। सञ्जयले ४४ हजार ८ सय २९ र वामदेवले ४४ हजार ७६ मत प्राप्त गरे। यसअघि २०७० सालमा एमाले उपाध्यक्ष गौतम बर्दियाबाटै निर्वाचित भएका थिए। तर अहिले माओवादी केन्द्रसँग गठबन्धन गर्दा पनि उनले चुनाव जित्न सकेनन्।

यसैगरी बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा वर्तमान सरकारमा बिना बिभागीय मन्त्री सन्तकुमार थारुले भारी मतान्तरले विजय हासिल गरेका छन्। उनले १३ हजार ८ सय २० मतको अन्तरले नेपाली काग्रेसका नेता गोपाल दहितलाई पराजित गरेका हुन्। थारुले ५० हजार ५ सय ५५ मत र दहितले ३६ हजार ७ सय ३५ मतले प्राप्त गरे।

बर्दियाको प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र १(२) मा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज तिलकराम शर्मा (हिमाल) बिजयी भए। उनले २३ हजार ३ सय ९२ मत र निकटम प्रतिद्वन्द्वी नेपाली काग्रेसका मंगलप्रसाद थारुले २० हजार ८ सय ४१ मल प्राप्त गरे।

प्रदेश सभा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २(१)मा नेकपा एमालेका कुलप्रसाद पोखलले २८ हजार ३ सय २३ मतले विजयी भए। निकतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका रामचन्द्र थापाले १७ हजार ४ सय २ मत प्राप्त गरेका थिए।

यसअघि शनिबार सार्वजनिक मत परिणाम अनुसार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १(१) मा एमालेका कविराम थारुले २३ हजार ५ सय ६० मतले विजयी भएका थिए। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका  सोदे विष्ट २१ हजार १ सय ९३ मत प्राप्त गरेका थिए।

यसैगरी निर्वाचन क्षेत्र नम्बर २(२) का नेकपा माओवादी केन्द्रका उम्मेदवार दिपेश थारु (राजेश) ले २३ हजार ६ सय ३२ मत ल्याएर विजयी भएका छन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका उम्मेदवार नाचुराम चौधरीले १७ हजार ९ सय १२ मत प्राप्त गरेका छन्। बर्दियामा २ लाख ७२ हजार ४ सय ७७ मतदातामध्ये १ लाख ९० हजार ८ सय १९ (करिब ७० प्रतिशत) मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.