|

रुपन्देही : रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फ वाम गठबन्धनले बहुमत ल्याएको छ। ५ प्रतिनिधिसभा र १० प्रदेशसभा रहेको रुपन्देहीमा प्रतिनिधिसभातर्फ वाम गठबन्धनले ३, नेपाली कांग्रेसले २ सिट जितेका छन्। प्रदेशसभातर्फ वाम गठबन्धनले ५, लोकतान्त्रिकले ३ र संघीय समाजवादी फोरमले १ स्थानमा जित हासिल गरेका छन्।

प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले कांग्रेस नेता एवं खानेपानी तथा सरसफाइ राज्य मन्त्री अब्दुल रज्जाकलाई पराजित गर्दै विजयी भए। सविधान सभा दोस्रो निर्वाचनमा रज्जाकले विश्वकर्मालाई पराजित गरेका थिए । यसपटक नतिजा उल्टाउदै विश्वकर्माले जित हासिल गरेका हुन्।

विश्वकर्माले ३४ हजार ७ सय ५२ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी रज्जाकले २६ हजार ८ सय ८५ मत ल्याए। निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा १ एमालेका डा. कृष्ण न्यौपाने विजयी भएका छन्। उनले लोकतान्त्रिक गठवन्धनका ताहिर अली भाटलाई हराउँदै विजयी भएका हुन्। न्यौपानेले १९ हजार ५ सय २० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका अलीले १३ हजार १ सय ४१ मत ल्याए। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभा २ मा माओवादी केन्द्रका दधीराम न्यौपाने विजयी भएका छन्। उनले १३ हजार ९४ मत ल्याए। प्रतिस्पर्धी कांग्रेसका हरि न्यौपानेले ११ हजार १ सय ८ मत ल्याए।

प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रतिस्पर्धी काँग्रेसका महासमिति सदस्य युवराज गिरीलाई भारी मतअन्तरले पछि पार्दै विजयी भएका छन्। पौडेल यो क्षेत्रबाट लगातार तेस्रो पटक विजयी भएका हन्। उनले ४४ हजार ९ मत ल्याएर विजयी भए। प्रतिस्पर्धी कांग्रेसका गिरीले २१ हजार ९ सय ४६ मत ल्याए। 

यस क्षेत्रको दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गरेको छ। प्रदेशसभा १ मा २१ हजार ७ सय ३४ मतका साथ एमालेका लिला गरी विजयी भएका छन्। उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका काजीमान श्रेष्ठले ९ हजार ७ सय ७८ मत ल्याए।

प्रदेश सभा दुईमा एमालेका भोजप्रसाद श्रेष्ठ विजयी भएका छन्। उनले २१ हजार १ सय ३७ मत ल्याए। उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका महेशमान सिंहले १२ हजार ५ सय ६८ मत ल्याएका छन्। 

प्रतिनिधिसभा ३ मा स्वास्थ्य मन्त्री एवं राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक बोहरालाई हराउदै एमाले उपमहासचिव घनश्याम भुसाल विजयी भएका छन्। भुसाल ३२ हजार ८ सय ६६ मत ल्याई विजयी भए। उनका निकतम प्रतिद्वन्द्वी बोहराले २७ हजार ४ सय ४२ मत ल्याए।

प्रदेशसभा तर्फ १ मा संघीय समाजवादी फोरमका सन्तोष पाण्डे विजयी भएका छन्। उनले लोकतान्त्रिक र वाम गठवन्धनका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन्। पाण्डेले ११ हजार ४ सय ७७ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवीप्रसाद चौधरीले १० हजार ३ सय २८ मत ल्याए। तेस्रो स्थानमा रहेका वाम गठबन्धन माओवादी केन्द्रका विश्वास बराल अनुपले ९ हजार ८ सय ३७ मत ल्याएका छन्।

प्रदेशसभा २ मा एमालेका तुल्सीप्रसाद चौधरी विजयी भएका छन्। उनले १८ हजार ६ सय १५ मत ल्याई विजयी भए। कांग्रेसका हरिध्वज मल्ले १६ हजार ७ सय १ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन्। प्रतिनिधिसभा ४ मा भने प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फ कांग्रेस उम्मेदवार विजयी भएका छन्।

प्रतिनिधि सभा तर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का उपाध्यक्ष सवेन्द्रनाथ शुक्लालाई हराउदै कांग्रेसका प्रमोद यादव विजयी भएका छन्। यादवले ३१ हजार ७ सय १ र शुक्लाले २० हजार ४ सय १६ मत ल्याए। एमालेका उम्मेदवार ओमप्रकाश यादव गुल्जारीले ४ हजार ७० मत ल्याई तेस्रो स्थानमा रहे। 

प्रदेश सभा १ मा कांग्रेसका अष्टभुजा पाठक ९ हजार ६४ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राजपाका हजरत अलीले ४ हजार ६ सय ३४ मत ल्याए। 

संघीय समाजवादी फोरमका कन्हैया बनियाँले ४ हजार ६ सय ३४ मत ल्याई तेस्रो स्थानमा रहेका छन् भने एमालेकी पल्लवी शुक्लले २ हजार ३ सय ३९ मत ल्याइन्। प्रदेश सभा २ मा काँग्रेसका बसिउद्दीन खाँ विजयी भएका छन्। उनले १२ हजार १ सय १३ मत ल्याए भने निकतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विरेन्द्र कलवारले ५ हजार ७ सय ६९ मत ल्याए। कलवार खाँनविरुद्ध बागी उम्मेदवार थिए। यो क्षेत्रमा स्वतन्त्र बालकृष्ण त्रिपाठी ३ हजार ४ सय ९९ मत ल्याई तेस्रो भएका छन्। 

जिल्लाको प्रतिनिधि सभा ५ मा कांग्रेसका भरतकुमार शाह ३३ हजार ८८ मत ल्याई विजयी भएका छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डिलाराम आचार्यले २० हजार ४ सय ३८ मत ल्याए। शाह यसअघि पनि यही क्षेत्रबाट विजयी भएका थिए। प्रदेश  सभा १ मा एमालेका भूमिश्वर ढकाल विजयी भएका छन्। उनी कांग्रेसका विष्णुप्रसाद पोखरेललाई हराउदै विजयी भएका हुन्। ढकालले २२ हजार २५ तथ पोखरेलले १५ हजार ४ सय १६ मत ल्याएका छन्।

यो क्षेत्रमा संघीय समाजवादी फोरमका सुशील थारु ३ हजार ८ सय ४ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। प्रदेश सभा २ मा कांग्रेसका फकरुद्दीन खाँन विजयी भएका छन्। उनी १६ हजार ६ सय ८३ मत ल्याई विजयी भए। निकतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी रमावती यादवले ९ हजार २ सय ५० मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.