|
नन्दकली गिरी

  • डिल्ली मल्ल-

दाङ : पैसा कमाउन कालापार (भारत) छिरेको छोरा रामबहादुर गिरी काग तिहारको दिन टुप्लुक्क घर आइपुग्दा कालागाउँ–१ सल्यानका ऐभान र नन्दकली कम्ती खुसी थिएनन्। तर त्यो खुसी एक दिन भन्दा टिक्दैन भन्ने के थाहा?  यथार्थमा त्यही भयो जुन घटनाको कल्पना समेत थिएन।

२०५५ साल कात्तिक १४ गते। लक्ष्मीपूजाको मध्यरात। सुतिरहेको छोरालाई आँखै अगाडिबाट लछारपछार पार्दै लगेको हिजोजस्तै लाग्छ  नन्दकली गिरीलाई। १८ वर्ष बित्यो। तर मध्यरातमा पुलिसले कुट्दै लगेको छोराको अवस्था के छ अत्तोपत्तो छैन।

‘सप्तरेखी (सप्तर्षी तारामण्डल) पश्चिमतिर ढल्किसकेका थिए, दुई/चारजना मुखमा पट्टि बाँधेका मान्छेसँग आएका पुलिसले कान्छालाई झम्टेर लगे। कट्टु र बनेन (गञ्जी) मात्रै थियो, चप्पल लगाउनै दिएनन्’ असी वर्षे वृद्धा नन्दकलीले सम्झिइन्, ‘त्यसपछि ऊ कहिल्यै आएन। कहाँ लगे, के गरे अहिलेसम्म केही थाहा छैन।’

उमेरसँगै आँखा देख्न गाह्रो भएपनि नन्दकली अठार वर्षअघिको त्यो डरलाग्दो दृश्य झल्झली सम्झिन्छिन्। ‘छोरा आउँछ कि भनी कुर्दाकुर्दै बुढा आफै गइसके, अब मेरो पालो नि आज हो कि भोलि ? छोराको केही खबर नपाएरै मर्ने भएँ।’ छोराको मरे, बाँचेको खबर पाउने आस गर्दागर्दै ४ वर्षअघि श्रीमान ऐभान गिरीको मृत्यु भइसकेकोछ।

भारतबाट भर्खरै फर्किएका रामबहादुर गिरीलाई प्रहरीले माओवादीको आरोपमा ०५५ कात्तिक १४ गते राती घरबाटै गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।

...

तारेख थाम्न भनी घरबाट बिहानै इलाका प्रहरी कार्यालय रागेचौर गएका मर्मपरिकाँडा–२ कोटबाराका घनबहादुर परियार र छोरा धने त्यसपछि घर फर्किएनन्। ‘साँझ आइहाल्छौं, चिन्ता नगर्नु’ भन्दै हिँडेको पनि १७ वर्ष पुगिसक्यो तर उनीहरुले भनेको त्यो ‘साँझ’ अझै आएको छैन।

पुर्ख्यौली पेशाले परिवार पाल्दै आएका परियार बाबुछोरा बेपत्ता भएपछि परिवारको बेहाल भएको छ। परिवारले लास र सासको कुरा त परै छ, उतिबेला नै चौकीमा सोधखोज गर्न जाँदा प्रहरीले कसैलाई नियन्त्रणमा नलिएको भन्दै उल्टै मार्ने धम्की दिएको आफन्तहरु बताउँछन्।

...

कजेरी–२ का विद्यार्थी ज्ञानप्रकाश नेपाली विद्यालयबाट घर फर्किदै गर्दा बीच बाटोबाटै हराए। इलाका प्रहरी कार्यालय शितलपाटीको प्रहरीले उनलाई कालालेखबाट नियन्त्रणमा लिएकोसम्म थाहा भएपनि त्यसपछि कहाँ लियो, के गर्‍यो केही थाहा नभएको उनको बुवा बताउँछन्।

....

तत्कालिन सुरक्षा समितिको निर्देशनमा जिल्ला शिक्षा कार्यालयले माओवादीको आरोपमा २४ घण्टे स्पष्टिकरण पत्रमार्फत् कार्यालयमा बोलाएर गिरफ्तारीमा परेका सेजुवाल टाकुराका शिक्षक बासुदेव शर्मा र कोटबाराका शिक्षक केशरबहादुर ओलीलाई सेनाले बेपत्ता बनाएको आफन्तहरु बताउँछन्।

कालागाउँका रामबहादुर, मर्मपरिकाँडा परियारबन्धु, कजेरीका विद्यार्थी ज्ञानबहादुर र शिक्षकहरु बासुदेव र केशरको बेपत्ता प्रकरण त सल्यान जिल्लाका प्रतिनिधि घटना मात्रै हुन्। तत्कालीन विद्रोही माओवादी कार्यालयको तथ्याङ्क अनुसार सल्यानमा ३७ जना बेपत्ता भएको देखिन्छ भने स्थानीय शान्ति समितिबाट ३३ जनाका आफन्तले राहत लिएका छन्।

बेपत्ता परिवारको तर्फबाट ३३ जनाका परिवारले राहत लिइरहेको स्थानीय शान्ति समिति सल्यानकी सचिव विष्णु शर्माले बताइन्। तर, पछिल्लो समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भइसकेपछि भने जिल्लामा ५९ जनाका परिवारको बेपत्ता बनाइएको उजुरी दिएको शर्माले जानकारी दिइन्।  ‘कतिपयले आफन्त बेपत्ता भएपनि मृतककै परिवारका रुपमा राहत लिइरहेका थिए, सचिव शर्माले भनिन्, ‘अहिले आयोगमा उजुरी दिदा बेपत्ता पारिएको भनेर बढी उजुरी देखिएको छ।’

बेपत्ताका परिवारजन धेरैले हराएका आफन्तलाई ज्यूँदो पाउने आशा त मारिसकेका छन्। अहिले सशस्त्र विद्रोहको नेतृत्व गरेको माओवादी पार्टीको नेतृत्वमा सरकार छ। तत्कालीन द्वन्द्वका बेला धेरै समय सरकारको नेतृत्व गरेको कांग्रेस प्रमुख सत्ता साझेदार दल बनेको छ। पीडितहरुको एउटै स्वर छ  ‘अब पनि द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक नगरिए यो भन्दा विश्वासिलो समय आउला र?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.