|
मोलुङ्ग हाइड्रो पावरबाट उत्पादित बिद्युत परीक्षण प्रसारणपछि निरीक्षण गर्दै ओखलढुंगाका नवनिर्वाचित जनप्रतिनिधिहरु।

मनोज भट्टराई-

    ओखलढुंगा : जिल्लाकै पहिलो ठूलो जलविद्युतका रूपमा निर्मित मोलुङ जलविद्युत् आयोजनाको परीक्षण प्रसारण सुरु गरिएको छ। ७ मेगावाट क्षमता भएको यस आयोजनाको आइतबारदेखि परीक्षण प्रसारण गरिएको हो।

    परीक्षण प्रसारणको नवनिर्वाचित प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार, प्रदेशसभाका सांसदहरु मोहन कुमार खड्का, अमिरबाबु गुरुङ तथा पूर्वसांसद रामहरि खतिवडाले अवलोकनसमेत गरेका छन्।

    पूर्वतयारी स्वरुपको यो परीक्षण प्रसारण १५ दिनसम्म हुने र त्यसपछि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी आयोजनाले गरेको छ। परीक्षण प्रसारणको क्रममा कुनै समस्या देखिएमा त्यसलाई सुधार गरी सञ्चालनमा ल्याइने पनि छ।

    आयोजनाको निर्माण कार्यको सुरुवात भएको २२ महिनामा केही छिटफुट काम बाहेक अरु काम सकिएकोले नियमित विद्युत प्रसारणका लागि पूर्व तयारी स्वरुपको परीक्षण प्रसारण सुरु गरिएको आयोजनाले जनाएको छ।

    आयोजनाको सफलताको लागि भनी आइतबार नै आयोजना स्थलमा धार्मिक परम्पराअनुसार देवघाटधामदेखि पण्डित बोलाएर रुद्री पूजासमेत आयोजनाले गाराएको छ।

    मोलुङ गाउँपालिकाको रामपुर र हर्कपुरको बिचबाट बहने मोलुङ खोलामा निर्मित आयोजना सदरमुकामस्थित सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ। त्यसका लागि आवश्यक काम भइसकेको आयोजनाले जनाएको छ। आयोजना निर्माणका लागि एनएमबी बैंक लगायतको १ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ।

    वर्षामा ७ मेगावाट र हिउँदमा ३ देखि ४ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ। मोलुङ जलविद्युत् सञ्चालनमा आएपछि जिल्लालाई लोडसेडिङ मुक्त बनाउन स्थानीयले माग गरेका छन्।

    स्थानीयहरुको मागलाई सम्बोधन गराउन आपूmहरुले सम्बन्धित ठाउबाट सकेको पहल गर्ने नवनिर्वाचित सांसदहरुले प्रतिबद्धता जनाएका छन्। केन्द्रीय विद्युत प्रसाण लाइनबाट टाढा रहेको ओखलढुंगामा हरेक गाउँहरुमा स्थानीयले माइक्रो हाइड्रो र पेल्टिक सेटबाट भने बिजुली बालिरहेका छन्।

    ओखलढुंगा जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला बनाउने अभियानस्वरुप केही दिनअघि लिखु ४ जलविद्युत आयोजनाको पनि निर्माण कार्यको उद्घाटन भएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.