|

पर्वत : यसअघिका सबै निर्वाचनमा कांग्रेसको जित हुने पुरानो धौलागिरी अञ्चलका चार जिल्लामा यसपटक वामपन्थीले जित हासिल गर्‍यो। पर्वत, वाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा गरी कुल १५ सिटमा नेपाली कांग्रेसले एक सिटमा पनि जित हासिल गर्न सकेन। दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बागलुङबाट १ मा एमालेका डा. सूर्य पाठक र २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भए।

क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र क मा एमालेका ईन्द्रलाल सापकोटा र प्रदेश (ख) मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा निर्वाचित भए। बाग्लुङ २ को प्रदेशसभा क्षेत्र नम्बर (क) मा माओवादी केन्द्रका चन्द्र बुढा, प्रदेश (ख) मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी बनेका छन्।

यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको बाग्लुङमा २०७० सालमा क्षेत्र नम्बर १ बाट कांग्रेसका हरिबहादुर खड्का निर्वाचित भएका थिए। उनको दुर्घटनामा मृत्यु भएपछि गरिएको उपनिर्वाचनमा उनकै पत्नी चम्पादेवी खड्का निर्वाचित भएकी थिइन्। यसपटक क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार बनेकी चम्पादेवी एमाले उम्मेदवारसँग पराजित भइन्। त्यस्तै २०७० सालमा बाग्लुङ २ बाट कांग्रेसकै प्रकाश शर्मा पौडेल र ३ बाट कांग्रेसकै ज्ञानकुमारी छन्त्याल विजयी भएकी थिइन्।

हिमालपारीको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभामा एमालेका प्रेमप्रसाद तुलाचन विजयी भए। उनले पटक पटक सांसद र मन्त्री भएका कांग्रेस नेता रोमी गौचन थकालीलाई पराजित गरे। प्रदेश (क) मा एमालेका इन्द्रधारा डाडु विष्ट र प्रदेश (ख) मा पनि एमालेकै महेन्द्रबहादुर थकाली विजयी भए।

म्याग्दीबाट प्रतिनिधिसभामा एमालेका भुपेन्द्रबहादुर थापा विजयी भए। प्रदेश सभा (क) मा माओवादी केन्द्रका विनोद केसी र (ख) मा एमालेकी नरदेवी पुनले जित हासिल गरिन्। म्याग्दीबाट २०७० सालको निर्वाचनमा पनि एमालेकै नवराज शर्मा निर्वाचित भएका थिए।

पर्वतबाट पनि प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित भएका छन्। यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी र प्रदेश सभा (ख) मा एमालेका विकास लम्सालले जित हात पारे। यसअघि दुईवटा निर्वाचन क्षेत्र रहेको पर्वतमा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पर्वत १ बाट कांग्रेसका अर्जुनप्रसाद जोशी निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.