|

तनहुँः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विजयी वाम गठबन्धनका कार्यकर्ताहरूले घरआँगनमै पुगेर कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका छन्। 
आइतबार साँझ दमौलीमा भएको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरूले नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि ध्रुवकुमार श्रेष्ठका छोरा राजु श्रेष्ठलाई घरआँगनमै हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका छन्। 

ती कार्यकर्ताहरूको आक्रमणमा परी तनहुँको क्षेत्र नम्बर– २ स्थित भिमाद नगरपालिका– ७ पुरानो बजार निवासी राजु श्रेष्ठ र प्रहरी हवल्दार प्रह्लाद गिरी घाइते भएका छन्। घाइते श्रेष्ठको टाउकोमा गहिरो चोट लागेको र प्रहरी हवल्दार गिरीको औँला भाँचिएको भिमाद इलाका प्रहरी कार्यालय तनहुँका इन्चार्ज लालबहादुर क्षेत्रीले जानकारी दिए। दुवै घाइतेको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको क्षेत्रीले बताए। 

तनहुँका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले भने घटनाको बारेमा सामान्य जानकारी आएको तर विस्तृत जानकारी आफूलाई नभएको बताए। ‘घटनालगत्तै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छु’, उनले भने। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले एक जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको बताए।

नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले उनीहरूले जीतको उन्मादसँगै लोकतान्त्रिक विचारधारालाई तर्साउने र आतंकित पार्ने कार्य वृद्धि हुने भन्दै यो अधिनायकवादतर्फको यात्रा भएको बताए। लोकतन्त्र खतरामा भएको अवस्थामा कानुनी कारवाहीको प्रक्रियामा जाने बताउँदै उक्त उच्छृंखल र घातक घटनाप्रति घोर भत्र्सना गर्दै दोषी उपर कडा कारवाहीको माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.