|

जलेश्वर (महोत्तरी) : महोत्तरी क्षेत्र नं. २ बाट राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी ३० हजार ७ सय २२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी किरण यादवले १३ हजार ९ सय ७४ मत ल्याएर पराजित भइन्।

को हुन् शरतसिंह भण्डारी?

०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका शरतसिंह भण्डारी नेपाली कांग्रेसमा आबद्ध भएका थिए। ०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी अहिलेसम्म पटक–पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन्।

०६२/०६३ सालको आन्दोलनपछि बनेको अन्तरिम संसदमा नेपाली कांग्रेसबाट सांसद रहेकै वेला मधेसमा भएको मधेस आन्दोलनमा नेपाली कांग्रेस परित्याग गर्दै मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए। फोरमबाट टिकट पाएर चुनाव जितेर पहिलो संविधानसभामा चुनिएपछि रक्षामन्त्री भएका वेला उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण रक्षामन्त्रीबाट उनलाई बर्खास्त गरिएको थियो।

०६४ साल फागुन १६ गते नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको ८ बुँदे सम्झौताअनुसार नेपाली सेनामा मधेसी समुदायको समूहगत प्रवेशको विषय उठाउँदा विभेद अन्त्य नभए देशसमेत विखण्डन हुन सक्ने अभिव्यक्ति रक्षामन्त्रीको हैसियतमा व्यक्त गरेपछि उनलाई बर्खास्त गरिएको थियो। त्यसपछि उनले छुट्टै राष्ट्रिय मधेस समाजवादी पार्टी खोलेर तराई मधेसमा जनजागरण अभियान खोलेका थिए।

पटक–पटक मन्त्री भइसकेका भण्डारी दोस्रो संविधानसभाको निर्वाचनमा महोत्तरीको क्षेत्र नं. १ र ६ बाट पराजित भएका थिए। अहिले राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यसमेत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.