|

रौतहट :  रौतहटमा प्रदेशसभा  सदस्यमा प्रतिस्पर्धा गरेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षकदेखि पूर्वमन्त्रीसमेतले लजास्पद हार व्यहोर्नुपरेको छ। रौतहट क्षेत्र नं. ४ को ख बाट प्रदेशसभा सदस्यमा उमेदवारी दिएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशम्शेर जबराले चौथो स्थानमा चित्त बुझाए।

राष्ट्रिय जनता पार्टीबाट उमेदवारी दिएका जबराले ४ हजार ८ सय ४० मत मात्र ल्याए। पूर्वप्रहरी प्रमुख जबराको विरुद्धमा बागी उठेका स्वतन्त्र उमेदवार शेख अकबुल कलाम आजादले प्रदेश सभा सदस्यमा ७ हजार ३ सय ९३ मत ल्याएर विजयी भए। यस प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार रामज्ञा यादव र एमालेका नागेन्द्र यादव दोस्रो र तेस्रो स्थानमा रहे।

यसैगरी क्षेत्र नं. ३ को क बाट प्रदेश सभामा उमेदवारी दिएका पूर्वमन्त्री गोविन्द चौधरीले पनि पराजय भोगेका छन्। तीन पटकसम्म सो क्षेत्रमा विजयी भएका राजपाका उम्मेदवार चौधरीलाई नेकपा एमालेका प्रदेशसभा उम्मेदवार नागेन्द्र यादवले पराजित गरेका हुन्। विजेता यादवले ११ हजार १ सय ८२ मत ल्याए भने पराजित चौधरीले १० हजार ८ सय ३४ मत ल्याए। चौधरी २०४८, २०५१ र २०६४ सालमा संसदमा विजयी भइ मन्त्रीसमेत भइसकेका व्यक्ति हुन्।

यसैगरी क्षेत्र नं. २ मा पनि एक वरिष्ठ चिकित्सक डा. रामाशंकर ठाकुर पनि प्रदेशसभाको सदस्यमै पराजित भएका छन्। नारायणी उपक्षेत्रीय अस्पतालको प्रमुख भई सेवानिवृत्त भएका ठाकुरले तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो।

यस्तै २०६४ सालको संविधानसभाको निर्वाचनमा तत्कालिन माधवकुमार नेपाललाई पराजित गर्ने नेकपा माओवादी केन्द्रका देवेन्द्रप्रसाद पटेलले पनि प्रदेशसभामै पराजित हुनुपरेको छ। क्षेत्र नं. ४ को क बाट वामगठबन्धनको तर्फबाट उमेदवारी दिएका पटेललाई नेपाली कांग्रेसका धनलाल ठोक्करले पराजित गरेका हुन्। स्थानीय तहको निर्वाचनमा १० हजार मतअन्तरले वाम गठबन्धन अगाडि रहेको पटेलको क्षेत्रमा पनि हार बेर्होनुपरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.