|
फाइल फोटो

उदयपुरः उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ मा स्थानीय तहको मतको नतिजा र राजनीतिक दलका संगठन हेर्ने हो भने कम्युनिष्टहरूको बाहुल्य छ। तर त्यहीँ वाम गठबन्धनको घेरा तोडेर पहिलो संविधानसभा ०६४ देखि ०७४ सम्म नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का जितिरहेका छन्।

०६४ र ०७० मा सहज रूपमा जीत हासिल गरेका खड्कालाई ०७४ मा भने निकै बल परेको छ। नयाँ संविधान कार्यान्वयन हुने बेलाको चुनावमा देशमा कांग्रेस हारिरहेको बेला उदयपुरमा खड्काले भने आफ्नो शाख जोगाउन सफल भएका छन्।

पूर्व शहरी विकासमन्त्रीसमेत रहेका खड्काले वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास राज्यमन्त्री मन्जु चौधरीलाई ५४८ मतले पछि पार्दै विजय हासिल गरेका हुन्। 

मुख्य निर्वाचन कार्यालयका अनुसार खड्काले ३३ हजार १४२ मत प्राप्त गरेका छन्। उनकी प्रतिद्वन्द्वी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेकी छन्। 

प्रतिनिधिसभामा २ र प्रदेशसभामा ४ सिट रहेको उदयपुरमा कांग्रेसले प्रनिनिधिसभा क्षेत्र नं.– १ र १ को ‘ख’मा मात्र जीत हात पारेको छ। प्रतिनिधिसभा क्षेत्र नं.– २ का दुवै प्रदेशसभा र १ को ‘क’मा पनि वाम गठबन्धनले जीत हात पारेको छ। 

उदयपुरमा वाम गठबन्धनको घेराबन्दीमा जित्ने खड्कासँग भोलिका दिनमा कम्युनिष्टहरू चुनाव लड्न नआए पनि हुन्छ भन्ने चर्चासमेत सुरु भएको छ।

यस्तो छ खड्काको परिचय
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकासमन्त्री डा. नारायण खड्काको जन्म २००५ चैत ७ गते भोजपुरमा भएको हो। उनका बुबाको नाम चित्रबहादुर खड्का र आमाको नाम धर्मकुमारी खड्का हो। २०२३ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका खड्काले अर्थशास्त्रमा भारतको पुनेबाट विद्यावारिधि (पीएचडी) गरेका छन्।

राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षसमेत भएका खड्काले नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सल्लाहकारका रूपमा काम गरेका थिए। ०५६ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका थिए अहिलेकै भूगोलबाट। तर २०६४ सालको संविधानसभा चुनावमा उदयपुर क्षेत्र नम्बर– १ बाट विजयी भएका खड्काले १४ हजार ४६८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत नेकपा (माओवादी) का राजन किरातीले १३ हजार २३६ मत र तेस्रो स्थानमा रहेका नेकपा एमालेका अशोककुमार राईले नौ हजार ८१० मत प्राप्त गरेका थिए।

दोस्रो संविधानसभाको चुनाव २०७० मा पनि खड्का यही क्षेत्रबाट १५ हजार ३८१ मत ल्याएर विजयी भए। खड्का यस क्षेत्रमा विकासवादी नेताका रूपमा परिचित छन्।

चुनावअघि सुनाएका खड्काका योजना
मध्य र पूर्वी उदयपुरको प्रमुख समस्याको रूपमा रहेको त्रियुगा नदी नियन्त्रणका लागि सात अर्ब रूपैयाँको योजना बनाएको खड्काले बताएका छन्। ‘त्रियुगा नदीले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र, जोगीदह, हडिया, सुन्दरपुर, तपेश्वरीसम्मका क्षेत्रहरूमा वर्सेनि क्षति पु¥याउँदै आएकाले मैले विशेष प्राथमिकतामा राखेको छु’, उनले भने’ ‘द्वारा खोलाको पुल मैले नै शिलान्यास गरेको हुँ, त्यो पूरा भइसक्यो।’

उनले पूर्वी उदयपुरमा धेरै पुलपुलेसा निर्माण गरेको बताए। खड्काले आफ्नो निर्वाचन क्षेत्रमा मात्र खानेपानी आयोजनामा डेढ अर्ब रूपैयाँ विनियोजन भएको बताए। विकट पहाडी वस्तीमा बिजुली पु¥याएको, जोगीदहमा विशाल विद्यालय भवन निर्माण गरेको र बेल्टार, जोगीदह, हडिया, बसाहा रामपुर क्षेत्रमा अधिकांश विद्यालयका भवन निर्माण आफूले गरेको खड्काको दाबी छ। ‘एक महिनाअघि मात्र मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई ल्याएर रानीटार धाप्लाङमा दूधकोसीमा पक्की पुलको शिलान्यास गराएको छु’, उनले भने।

उदयपुरमा एयरपोर्टको काम अगाडि बढाइरहेको र उदयपुरलाई खोटाङ, भोजपुर, सुनसरी, सप्तरीको हव बनाउने गरी एयरपोर्टको योजना ल्याएको उनले बताए। 

मन्जुलाई वामबाटै असहयोग
स्थानीय तहको मतको आधारमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनको कब्जामा त्रियुगा र वेलका नगरपालिका थिए। अधिकांश वडा अध्यक्षदेखि सदस्यसमेत जितेको एमालेलाई माओवादीको साथ थियो। तर, त्यसको ठीक उल्टो मत परिणाम आएको छ। 

स्थानीय तहको अंकगणितमा वाम गठबन्धन अघि छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ मा एमाले र माओवादी केन्द्रको जम्मा मत ३९ हजार २५४ छ भने कांग्रेसको २३ हजार ४३१ छ। अहिले विजेता खड्काले पनि १० हजारभन्दा बढी वाम गठबन्धनको मत तान्न सफल भएका छन्।

यस निर्वाचन क्षेत्रमा बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका पर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.