|

काठमाडौं: केही दिनअघि दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि केही नयाँ उम्मेदवारले पनि निर्वाचनमा प्रतिष्पर्धा गरे। पुराना अनुहार सँगसँगै नयाँ अनुहार पनि निर्वाचित भएर पहिलो पटक संसद छिर्ने मौका पाएका छन्। यसरी विजयी हुने नयाँ अनुहारहरूले केही चर्चित नेताहरूलाई समेत पराजित गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका माहामन्त्री राजेन्द्र लिङ्देन तीन पटक संसदीय निर्वाचनमा प्रतिष्पर्धा गर्दा यस पटक भने निर्वाचित भए। २०५६ सालको आमनिर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर- ३ बाट पराजित लिङ्देनले यस पटकको निर्वाचनमा भने आफूलाई दुई पटक पराजित गर्ने कांग्रेस नेता कृष्णप्रसाद सिटौललाई नै पराजित गर्दै पहिलो पटक संसद भवन छिर्ने मौका पाएका हुन्। लिङ्देनले ४४ हजार ६१६ मत प्राप्त गर्दा सिटौलाले ३१ हजार १७१ मत प्राप्त गरे।

धादिङ क्षेत्र नम्बर- १ बाट निर्वाचनमा प्रतिष्पर्धा गरेका नेकपा एमालेका नेता भूमिप्रसाद त्रिपाठी पनि पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन्। उनले कांग्रेसका विश्वप्रकाश अर्याललाई पराजित गरे।

नेकपा एमालेका तर्फबाट ललितपुर– १ का उम्मेदवार बनेर विजयी बनेका पूर्व प्रहरी नायव निरीक्षक नवराज सिलवाल पहिलो पटक सांसद बने। उनले कांग्रेसका युवा नेता तथा अर्थराज्यमन्त्री उदयशमेशर जबरालाई पराजित गर्दै विजयी भए। उनी केही महिनाअघि मात्र प्रहरीको जागिर छाडेर एमालेमा प्रवेश गरेका थिए।

नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ तनहुँ क्षेत्र नम्बर- १ बाट विजयी भएका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर उनी पहिलो पटक सांसद निर्वाचित भएका हुन्। २०७० सालको निर्वाचनमा भने पैडेलले श्रेष्ठलाई हराएका थिए।

झापा क्षेत्र नम्बर- २ बाट पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गरेकी एमाले नेत्री पवित्रा खरेल निरौला पहिलो पटक सांसद बनिन्। उनले कांग्रेसका जिल्ला सभापति उद्धव थापालाई पराजित गरिन्।

सुनसरी– १ बाट निर्वाचनमा प्रतिष्पर्धा गरेका एमालेका उम्मेदवार जयकुमार राई पहिलो पटक सांसद बन्दै छन्। उनले संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई दोब्बर मतान्तरले पराजित गरे।

नेकपा माओवादी केन्द्रकी नेत्री विना मगर कञ्चनपुर– १ बाट विजयी भइन्। विजयी भएसँगै उनी पहिलो पटक सांसदका रूपमा संसद भवन छिर्दै छन्। उनले कांग्रेसका दिवानसिंह विष्टलाई पराजित गरिन्।

भक्तपुर– २ बाट निर्वाचित एमालेका युवा नेता महेश बस्नेत यसअघि सांसद बनेका थिएनन्। उनले कांग्रेसबाट उम्मेदवार बनेका पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गरेका हुन्।

झापा– ३ बाट निर्वाचित भएका एमाले नेता लालप्रसाद साँवा लिम्बूले २०७० सालको निर्वाचनमा पनि प्रतिष्पर्धा गरेका थिए। तर त्यसबेला उनलाई कांग्रेसका केशवकुमार बुढाथोकीले पराजित गरे। यस पटक भने कांग्रेसका देउकुमार थेवेलाई पराजित गर्दै उनको सांसद बन्ने दोस्रो प्रयास भने सफल भयो।

नेकपा एमालेका उम्मेदवार हीराचन्द्र केसी दाङ– ३ बाट निर्वाचित भए। उनी प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित भएका हुन्। उनले कांग्रेसका दीपक गिरीलाई पराजित गरेका हुन्।

नेकपा एमालेका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)– २ बाट उम्मेदवार बनेका तिकबहादुर महत क्षेत्रीले पहिलो पटक सांसद बनेर संसद भवन छिर्ने मौका पाएका छन्। उनले कांग्रेसका विष्णुकुमार कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित पदम गिरी यसअघि संसदीय निर्वाचनमा निर्वाचित भएका थिएनन्। उनी अहिले पहिलो पटक संसदीय निर्वाचनमा विजयी भएका हुन्। उनले कांग्रेसका अर्जुनप्रसाद जोशीलाई पराजित गरे।

दाङको निर्वाचन क्षेत्र नम्बर- १ बाट विजयी भएका नेकपा एमालेका उम्मेदवार मेटमणि चौधरी पनि सांसदका रूपमा पहिलो पटक संसद भवन प्रवेश गर्दै छन्। उनले कांग्रेसकी सुशीला चौधरीलाई हराएर विजयी भएका हुन्।

तीन पटकसम्म निर्वाचनमा पराजित भएका नवराज रावत यस पटक भने सुर्खेत- २ बाट निर्वाचित भएका छन्। उनले कांग्रेसका हृदयराम थानीलाई पराजित गरे।

धादिङ– २ बाट निर्वाचित एमाले नेता खेमप्रसाद लोहनी पहिलो पटक सांसद बनेका छन्। उनले कांग्रेसका दिलमान पाख्रिनलाई पराजित गरे।

एमालेका तर्फबाट बझाङमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा प्रतिष्पर्धा गरेका भैरवबहादुर सिंह विजयी भए। उनी पहिलो पटक प्रतिनिधिसभाका लागि निर्वाचित भएका हुन्। उनले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई पराजित गरे।

काञ्चनपुर- २ बाट निर्वाचित एमालेका नरबहादुर थामी पहिलो पटक सांसद निर्वाचित भएका छन्। उनले कांग्रेसका नारायणप्रसाद साउदलाई पराजित गरे।

तनहुँ क्षेत्र नम्बर- २ मा एमालेका केदार सिग्देलले नेपाली कांग्रेसका शंकर भण्डारीलाई पराजित गरे। भण्डारीलाई पराजित गर्दै उनी पहिलो पटक सांसद निर्वाचित भएका छन्।

नेकपा एमालेका  दलित नेता जगतबहादुर सुनार विश्वकर्मा कास्की क्षेत्र नम्बर- ३ बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गर्दै उनी पहिलो पटक सांसद बनेका छन्।

संघीय समाजवादी फोरम नेपालका नेता उमाशंकर अगरिया पनि पहिलो पटक सांसद बनेका छन्। उनी धनुषा- २ बाट माओवादी केन्द्रका रामचन्द्र झालाई पराजित गर्दै पहिलो पटक सांसद बनेका हुन्।

प्रत्यक्षतर्फ प्रतिनिधिभा निर्वाचनमा कांग्रेस तेस्रो पार्टी बनिरहेका बेला रूपन्देही- ४ मा भने प्रमोद यादवले निर्वाचन जित्दै पहिलो पटक सांसद बनेका छन्। उनले राजपाका नेता सर्वेन्द्रनाथ शुक्लालाई पराजित गरे।

बाँके- ३ मा नेपाली कांग्रेसका बादशाह कुर्मीलाई पराजित गर्दै एमालेका नन्दलाल रोक्का क्षेत्री विजयी भए। उनी पनि पहिलो पटक सांसद बनेका छन्।

माओवादी केन्द्रका दलित नेता महेश्वरजंग गहतराज बाँके- १ बाट निर्वाचित भए। नेपाली कांग्रेसका माधवराम खत्रीलाई पराजित गर्दै उनी प्रथम पटक सांसद बन्न सफल भएका छन्।

गोरखा- १ बाट निर्वाचित हरिराज अधिकारी पनि पहिलो पटक सांसद बनेका छन्। उनले कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई हराउँदै विजयी भएका हुन्। माओवादी केन्द्रका सचिवालय सदस्यसमेत रहेका अधिकारी पहिलो पटक चुनावमा प्रतिष्पर्धा गरेका हुन्।

बागलुङ- १ बाट निर्वाचित सूर्यप्रसाद पाठक पहिलो पटक सांसद बनेका छन्। उनले कांग्रेसकी चम्पादेवी खड्कालाई पराजित गरे।

नेकपा एमालेबाट उम्मेदवार बनेका लालबहादुर थापा बाजुरा– १ बाट निर्वाचित भए। कांग्रेसका कविराज पण्डितलाई पराजित गर्दै विजयी भएका थापा प्रथम पटक सांसद बनेका छन्।

नेपाली कांग्रेस परित्याग गरेर राजपामा प्रवेश गरेका चन्द्रकान्त चौधरी सप्तरी क्षेत्र नम्बर- ३ बाट विजयी भएका छन्। उनी पनि पहिलो पटक सांसद बनेका छन्। उनले कांग्रेसका दिनेशकुमार यादवलाई पराजित गरे।

बारा- ४ मा राजपाको तर्फबाट उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यमा एकवल मियाँ निर्वाचित भएका छन्। उनले एमालेका देवनारायण थारूलाई पराजित गर्दै पहिलो पटक सांसद बन्ने मौका पाएका छन्।

उदयपुर- २ मा कांग्रेसका नारायणबहादुर कार्कीलाई पराजित गर्दै माओवादी केन्द्रका सुरेशकुमार राई विजयी भएका छन्। विजयी भएसँगै उनले प्रथम पटक सांसद बन्ने अवसर पाएका छन्।

अछाम- २ बाट कांग्रेसका पुष्पबहादुर शाहलाई पराजित गर्दै यज्ञबहादुर बोगटी निर्वाचित भएका छन्। उनी पनि प्रथम पटक सांसद बनेका छन्।

लामो समयसम्म गरेको चिकित्सा पेसा त्यागेर राजनीतिमा आएका  डा. सूर्यनारायण यादव सप्तरी- १ बाट निर्वाचित हुँदै संसद भवन प्रवेश गर्ने मौका पाएका छन्। संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका डा. यादवले माओवादी केन्द्रका नेता अशोककुमार मण्डललाई पराजित गरे।

संघीय समाजवादी फोरम नेपालका तर्फबाट बारा- ३ मा उम्मेदवार बनेका रामबाबुकुमार यादव निर्वाचित भएका छन्। एमालेका आदयानन्द पाण्डेयलाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी पनि पहिलो पटक सांसद बनेका हुन्।

नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्षसमेत रहेका कृष्णबहादुर राई काठमाडौं क्षेत्र नम्बर- ३ बाट निर्वाचित भएका छन्। कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गर्दै उनी सांसद बनेका हुन्। उनले पनि पहिलो पटक सांसद बन्ने अवसर पाएका छन्। 

संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर- ३ बाट उम्मेदवारी दिएर निर्वाचित हरिनारायणप्रसाद रौनियार पनि पहिलो पटक सांसद बनेका छन्। उनले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गरे।

नेकपा एमालेबाट मनाङमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पाल्देन छोपाङ गुरुङ निर्वाचित भए। कांग्रेसका टेकबहादुर गुरुङलाई हराउँदै निर्वाचित पाल्देन पहिलो पटक सांसद बनेका छन्।

मुगुबाट प्रतिनिधिसभामा निर्वाचित गोपाल वम नेकपा एमालेका उम्मेदवार हुन्। कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका वमले पनि पहिलो पटक सांसद बन्ने अवसर पाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.