|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिँदै अब नयाँ सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।  सोमबार प्रेस विज्ञप्ति जारी गरी उनले संविधानको मर्म अनुसार नयाँ सरकार निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन्।

'म निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि धन्यवाद ज्ञापन गर्दछु। अब सरकारबाट संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु' उनले भनेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत मतदाताले वाम गठबन्धनलाई ऐतिहासिक अनुमोदन गरिदिएको भन्दै प्रचण्डले वाम गठबन्धनको विजयसँगै देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको युग सुरु भएको दावी गरे। 'यो ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुहुन्छ' उनले भनेका छन्।

अहिलेको विजयलाई परीक्षा र जिम्मेवारीका रुपमा लिन र संयमपूर्वक राष्ट्रिय समृद्धिका लागि क्रियाशील प्रचण्डले वामपन्थी कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। प्रचण्डले आफूलाई विजयी गराउने चितवन क्षेत्र नम्बर ३ का मतदातालाई पनि धन्यवाद दिएका छन्। उनले आउँदा दिनमा बिना भेदभाव सिङ्गो चितवनको साझा अभिभावक बन्ने उद्घोष पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.